काठमाडौं – ब्रोकर कम्पनीले नै शेयर खरिदका लागि मार्जिन कर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्थाले वर्षौंदेखि गर्दै आएको शेयर धितो कर्जा व्यवसायको भविष्यबारे चासो बढेको छ। हालसम्म शेयर खरिदका लागि आवश्यक मार्जिन कर्जा बैंक तथा वित्तीय संस्थाबाट मात्रै प्रवाह हुँदै आएको थियो भने ब्रोकर कम्पनीको भूमिका कारोबार सहजीकरणमा सीमित थियो। अब ब्रोकर कम्पनीले पनि लगानीकर्तालाई कर्जा दिन पाउने भएपछि यसले बैंकहरूको कर्जा प्रवाहमा कस्तो असर पार्ला भन्ने विषयमा बहस सुरु भएको हो।
शेयर लगानीकर्ता छोटेलाल रौनियारका अनुसार ब्रोकरमार्फत मार्जिन कर्जा उपलब्ध हुन थालेपछि लगानीकर्ताले बैंक धाउनुपर्ने अवस्था हट्नेछ। उनले कारोबार गर्ने प्लेटफर्मबाटै कर्जा सुविधा उपलब्ध हुँदा समय बचत हुने, प्रक्रिया छोटिने र विशेषगरी सक्रिय लगानीकर्तालाई सहज हुने बताए। उनका अनुसार ब्रोकरले हरेक कारोबारका लागि छोटो अवधिका लागि कर्जा उपलब्ध गराउने भएकाले धेरै लगानीकर्ताले यसको लाभ लिन सक्नेछन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि शेयर धितो कर्जाको आकार तीव्र रूपमा बढिरहेको देखाउँछ। आर्थिक वर्ष २०७९/८० सम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा ७६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म यो रकम बढेर ९० अर्ब रुपैयाँ पुगेको थियो। गत आर्थिक वर्षको जेठसम्म आइपुग्दा यस्तो कर्जा १ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा जाने कर्जा लगातार बढिरहेका बेला अब ब्रोकरमार्फत पनि कर्जा उपलब्ध हुने भएपछि यसको प्रभावबारे चासो बढेको हो।
बैंकिङ्ग विज्ञहरू भने ब्रोकरले दिने मार्जिन लोनका कारण बैंकहरूलाई ठूलो असर नपर्ने बताउँछन्। उनीहरूका अनुसार ब्रोकर कम्पनीले लगानीकर्तालाई दिने कर्जा पनि अन्ततः बैंकबाटै प्राप्त हुने भएकाले बैंकहरूको कर्जा व्यवसाय समाप्त हुने अवस्था छैन। बैंकहरूले ब्रोकर कम्पनीलाई होलसेल कर्जा उपलब्ध गराउने र सोही स्रोतबाट ब्रोकरले लगानीकर्तालाई मार्जिन कर्जा दिने भएकाले बैंकको समग्र कर्जा प्रवाहमा उल्लेख्य असर नपर्ने उनीहरूको तर्क छ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकालले पनि बैंक तथा वित्तीय संस्था र ब्रोकर कम्पनीले उपलब्ध गराउने कर्जाको प्रकृति नै फरक भएकाले दुवैबीच प्रत्यक्ष प्रतिस्पर्धा नहुने बताए। उनका अनुसार बैंकले दिने कर्जा शेयर धितोमा आधारित हुन्छ भने ब्रोकर कम्पनीले दिने मार्जिन लोन शेयर खरिद गरेर होल्ड गर्नका लागि लक्षित हुन्छ। त्यसैले यी दुई फरक प्रकृतिका वित्तीय उत्पादन हुन्गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिका को संख्या।
ढकालका अनुसार ब्रोकर कम्पनीलाई बैंकहरूले प्रवाह गर्ने कर्जाको सीमा भने बढ्न सक्छ। छोटो अवधिका लागि कर्जा आवश्यक पर्ने सक्रिय लगानीकर्ताले ब्रोकरमार्फत कर्जा लिन रुचाउने सम्भावना छ भने लामो अवधिका लागि कर्जा चाहिने लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाटै शेयर धितो कर्जा लिन सक्नेछन्।
तर, सक्रिय ट्रेडरहरूको ठूलो हिस्सा ब्रोकरतर्फ आकर्षित भएमा बैंकहरूको शेयर धितो कर्जा पोर्टफोलियो केही खुम्चिन सक्ने सम्भावना पनि उनले औंल्याए। यद्यपि, ब्रोकरमार्फत मार्जिन लोन सञ्चालनसँगै जोखिम व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बन्ने विज्ञहरूको भनाइ छ। शेयर मूल्यमा तीव्र उतारचढाव हुने अवस्थामा धितो व्यवस्थापन, तरलता कायम राख्ने व्यवस्था तथा लगानीकर्ता संरक्षणका विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसके नयाँ प्रणालीले थप जोखिम निम्त्याउन सक्ने उनीहरूको चेतावनी छ।
१२३ कम्पनीको शेयर खरिदका लागि मात्रै ब्रोकरबाट मार्जिन कर्जा
नेप्सेले मार्जिन कारोबारका लागि १ सय २३ कम्पनी योग्य रहेको बताएको छ। मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक नै गरेर १२३ कम्पनीको शेयर कारोबारमा मात्रै मार्जिन लेन्डिङको सुविधा ब्रोकर कम्पनीले प्रदान गर्नेछ बताएको हो। मार्जिन कारोबारका लागि योग्य कम्पनीमा १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ फाइनान्स, १७ माइक्रोफाइनान्स, १२ जीवन बीमा, ११ निर्जीवन बीमा, १ व्यापार कम्पनी, ६ लगानी समूहका कम्पनी, २८ हाइड्रोपावर कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी, ३ होटल र २ वटा अन्य समूहका कम्पनी छन्। धितोपत्र बोर्डले निर्देशिका लागू गरेसँगै धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूले नै लगानीकर्तालाई मार्जिन कर्जा प्रवाह गर्न सुरु गरिसकेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट अनुमति लिएर ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार सुविधा दिइरहेका छन्।
हालसम्म ४९ वटा कम्पनीले मार्जिन कारोबार सुविधाका लागि लाइसेन्स पाएका छन्। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीकाअनुसार ब्रोकर ३ वटा ब्रोकर कम्पनीले कर्जा प्रक्रिया नै अघि बढाइसकेका छन्। हालसम्म ब्रोकर नं ५८ नासा सेक्युरिटिज, ब्रोकर नं ४५ इम्पेरियल सेक्युरिटिज र ब्रोकर नं ३३ दक्षिणकालि इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजले मार्जिन कारोबार सुरु गरेका हुन्।
प्रवक्ता पराजुलीकाअनुसार हाल १२ वटा कम्पनी भने मार्जिन कारोबारको प्रक्रियामा छन्। प्रक्रियामा रहेका कम्पनीहरूमा प्रिमियर सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, ब्रिलियन्ट सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी, प्रोपर्टी बिजार्ड, ब्लुचिप सेक्युरिटिज, सेवा सेक्युरिटिज, सिटिजन्स सेयर ब्रोकर, स्वर्णलक्ष्मी सेक्युरिटिज, मार्केट सेक्युरिटिज एक्सचेन्ज कम्पनी, पाही इन्भेष्टमेन्ट, मिल्की वे शेयर ब्रोकर कम्पनी छन्।
मार्जिन लोनका लागि नेपाल धितोपत्र बोर्डले छुट्टै मापदण्ड नै बनाएको छ। मार्जिन सुविधाका लागि योग्य हुन कम्पनीको कम्तिमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत हुनुपर्ने, प्रतिशेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आईपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने उक्त मापदण्डमा उल्लेख छ।
ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ। धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्न सक्ने कुल मार्जिन सुविधाको बढिमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नसक्ने उल्लेख छ।







About Us
प्रतिक्रिया