सेबोनले नेपालमा सुरु गर्ने भनेको सर्ट सेलिङ के हो ? कसरी बजार घट्दा पनि कमाउन सकिन्छ ?


काठमाडौं – नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार मार्गचित्र २०८३ मार्फत नेपाली पुँजी बजारमा पनि सर्ट सेलिङ सुरु गर्ने घोषणा गरेको छ । तर, के हो त सर्ट सेलिङ ? 

भारतको शेयर बजार नियामक निकाय भारतीय प्रतिभूति र विनिमय बोर्ड (सेबी) द्वारा शेयर बजारमा पारदर्शिता, निष्पक्षता र अनुशासन कायम गर्ने उद्देश्यले सर्ट सेलिङ सम्बन्धी निर्देशिका नै कार्यान्वयनमा छ ।

सामान्यतया आफूसँग नभएको शेयर बजारबाट सापटी लिएर महँगो मूल्यमा बेच्ने र पछि शेयरको मूल्य घटेपछि सस्तोमा किनेर साहुलाई फिर्ता गर्ने प्रक्रिया नै सर्ट सेलिङ हो । यस प्रणालीबाट लगानीकर्ताले घटेको मूल्यको अन्तरबाट नाफा कमाउँछन् । सेबीले विना शेयर सापटी लिई गरिने व्यापार अर्थात् नेकेड सर्ट सेलिङलाई पूर्ण रूपमा प्रतिबन्धित गरेको छ । 

सर्ट सेलिङमा बजार घट्दा पनि लगानीकर्ताले मूल्यको फरकबाट नाफा निकाल्छन् । तर, यसरी बजारको उतारचढावबाट फाइदा उठाउँदै गर्दा यसका जोखिमहरू सही रूपमा बुझ्न अति आवश्यक हुन्छ । साधारणतया हामी पहिले सस्तोमा शेयर किन्छौँ र महँगोमा बेच्छौँ । तर सर्ट सेलिङमा ठ्याक्कै यसको उल्टो पहिले महँगोमा बेच्ने र पछि सस्तोमा किन्ने  गरिन्छ। 

यसलाई एउटा सरल उदाहरणबाट बुझौँ । कुनै क भन्ने कम्पनीको शेयर मूल्य अहिले प्रतिशेयर १ हजार रुपैयाँ छ । यो चाँडै नै घट्दै छ भन्ने लाग्छ । तपाईँसँग त्यो कम्पनीको एउटा पनि शेयर छैन । तपाईँ आफ्नो ब्रोकरमार्फत कसैको १ सय कित्ता शेयर सापटी लिनुहुन्छ र त्यसलाई बजारमा तत्कालै एक हजार रुपैयाँका दरले एक लाख रुपैयाँमा बेचिदिनुहुन्छ । अब तपाईँको खातामा एक लाख रुपैयाँ आउँछ । तपाईँले अनुमान गरेजस्तै केही दिनमा सो शेयर को मूल्य घटेर प्रतिशेयर ८ सय रुपैयाँमा पुग्छ । अब तपाईँ बजारबाट त्यही एक सय कित्ता शेयर ८ सय रुपैयाँको दरले ८० हजार रुपैयाँमा किन्नुहुन्छ । जसको शेयर सापटी लिनुभएको थियो, उसलाई बुझाइदिनुहुन्छ । सुरुमा बेचेको रकम १ लाख रुपैयाँपछि किनेको रकम ८० हजारमा बेच्दा खुद नाफा २० हजार रुपैयाँ हुन्छ । यो ब्रोकरको शुल्क बाहेकको हिसाब हो । यदि शेयरको मूल्य घटेर ८ सय रुपैयाँ हुनुको साटो बढेर १ हजार २ सय पुगेको भए तपाईँलाई प्रतिशेयर दुई सय रुपैयाँ नोक्सान हुने जोखिम पनि उत्तिकै छ । त्यसैले सर्ट सेलिङको कारोबार गर्दा जोखिमको पूर्व आकलन गर्न सक्नुपर्छ ।