काठमाडौं – विभिन्न जिल्लाबाट पैदल यात्रा गर्दै राजधानी आएका लघुवित्त पीडितहरूले दोस्रो दिन पनि माइतीघर मण्डलामा धर्ना जारी राखेका छन्। आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन्।
धर्नामा सहभागी पीडितहरूले लघुवित्तसम्बन्धी विगतमा तयार गरिएका अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्न तथा चर्को र चक्रवर्ती ब्याज असुली रोक्न माग गरेका छन्।
उनीहरूले विभिन्न शीर्षकमा असुल गरिने हर्जना तथा अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, जग्गा धितो लिलामी गर्ने, कालोसूचीमा राख्ने तथा अन्यायपूर्ण ऋण असुलीका घटनाको न्यायिक निरूपण गर्नुपर्ने मागसमेत राखेका छन्।
यसअघि मंगलबार बालुवाटारमा धर्ना दिएका पीडितहरू नेपाल राष्ट्र बैंकतर्फ अघि बढेका थिए। तर प्रहरीले उनीहरूलाई रोकेपछि सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए।
लघुवित्त पीडितहरूले देशका विभिन्न जिल्लाबाट पैदल मार्च गर्दै काठमाडौँ आइपुगेको जनाउँदै आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।







About Us
प्रतिक्रिया