सरकारले ११ अर्ब २० करोड ट्रेजरी बिल सार्वजनिक गर्दै

सरकारले ११ अर्ब २० करोड ट्रेजरी बिल सार्वजनिक गर्दै


बैकिङ्ग समाचार । 

नेपाल सरकारले खर्चको स्रोत जुटाउनका लागि आन्तरिक ऋण उठाउन ४ अर्ब रुपैयाँ बरावरको नयाँ ट्रेजरी बिल जारी गर्दै छ । सरकारले पुरानो ट्रेजरी बिल्सको पनि सावाँ भुक्तानी नगर्ने भएपनि ७ अर्ब २० करोड रुपैयाँ बरावरको नवीकरण गर्ने भएको हो ।

सरकारका लागि नेपाल राष्ट्र बैंकले जारी गरीदिने कुल ११ अर्ब २० करोडको ट्रेजरी बिल्सको सोमबार बोलकबोल गरी मंगलबार बाँडफाँड गर्ने जनाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गर्नु परेकाले थप पूँजी आवश्यक भएकाले पुरानो ऋणपत्रको सावाँ भुक्तानी नगरी नवीकरण गर्ने तथा नयाँ ट्रेजरी जारी गर्न लागेको हो । सरकारलाई पूँजी आवश्यक भएपछि केन्द्रीय बैंक मार्फत छोटो अवधिको सरकारी ऋणपत्र जारी गर्छ ।

सरकारी ढुकुटीमा राजस्व कम उठ्ने तथा कोरोना भाइरसको असरका कारण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले स्वास्थ्य संकटसँग लड्न तथा अर्थतन्त्रलाई चलायमान बनाइराख्न राहतको कार्यक्रम समेत ल्याउनु परेको अवस्था छ । त्यसैले पनि पछिल्लो समयमा सरकारले अन्तरिक ऋण उठाउन जोडबल गरिरहेको छ ।

केन्द्रीय बैंकले सोमबार ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ३ प्रकृतिका ऋणपत्रको नवीकरण नयाँ निष्काशन गर्न लागेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ दिनमा र तेस्रो ३६४ दिनमा परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ । २ अर्ब रुपैयाँ बरावरको नवीकरण र ४ अर्ब रुपैयाँ बरावरको नयाँ गरी कुल ६ अर्बको ३६४ दिने, ५ अर्ब रुपैयाँ बरावरको १८२ दिने र २० करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी बिल्स नवीकरण गर्ने भएको हो ।

सो ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि असोज २६ गते केन्द्रीय बैंक निष्काशन गरेको ९१ दिने ट्रेजरी बिल्सको औसत व्याजदर १.२६४० प्रतिशत रहेको थियो । त्यसैगरी १८२ दिने सरकारी ऋणपत्रको औसत ब्याजदर १.७६५९ र ३६४ दिने ट्रेजरीको औसत ब्याजदर २.५८२३ प्रतिशत रहेको थियो ।