घर तथा गाडी कर्जामा बैंकहरुले तोके स्थिर ब्याजदर, कुन बैंकको कति ?

घर तथा गाडी कर्जामा बैंकहरुले तोके स्थिर ब्याजदर, कुन बैंकको कति ?


बैकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले २०७७ असोज मसान्तभित्रमा एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत आवधिक (घर तथा  गाडी) कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर तोक्न थालेका छन् । बैंकहरूको बेस रेट (आधार दर) न्यून विन्दुमा आएको अवस्थामा केन्द्रीय बैंकले स्थिर ब्याजदर तोक्न निर्देशक दिँदा केही असन्तुष्ट देखिएका थिए । यद्यपी केही बैंकहरूले कात्तिक १ गतेबाट लागू हुने गरी स्थिर ब्याजदर तोकेका हुन् । 
कुन बैंकको ब्याजदर कति ? 

माछापुछ्रे बैंक
माछापुछ्रे घरकर्जा ५ वर्षसम्मका लागि ९.८९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.८९ प्रतिशत र १० देखि माथिका लागि ११.८९ प्रतिशत ब्याजदर तोकिएको छ । यता अटो कर्जा ९.९ देखि १०.९९ प्रतिशतसम्म रहेको छ । अन्य रिटेल कर्जा १०.२४ देखि १२.२४ प्रतिशतसम्म रहेको छ । 

एसबीआई बैंक 
नेपाल एसबीआई बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा १४.५० प्रतिशत ब्याजदरमा लिनेछ । गाडी खरिदका लागि १० वर्षसम्मका लागि १४ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रभु बैंक 
प्रभु बैंकले ५ वर्षसम्मको घरकर्जामा ९.९९ प्रतिशत र गाडी खरिदका लागि १०.२४ प्रतिशत ब्याजदर तोकेको छ । ५ देखि १० वर्षसम्मको  घर कर्जाका लागि १०.९९ प्रतिशत र गाडीका लागि ११.२४ प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्यान्डर्ड चार्टड बैंक 
व्यक्तिगत कर्जा ५ वर्षसम्मका लागि १३ प्रतिशत ब्याजदर, सवारी साधन कर्जा १०.७५ प्रतिशतदेखि ११.७५ प्रतिशतसम्म, घर कर्जा १०.७५ देखि १३.७५ प्रतिशत सम्म (५ देखि १० वर्षसम्मको) रहेको छ । यसको असार मसान्तसम्मको आधारदर (बेस रेट) सात प्रतिशत रहेको छ । 

राष्ट्रिय वाणिज्य बैंक 
राष्ट्रिय वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५ वर्षका लागि साढे ९ प्रतिशत, घर कर्जाका लागि ९ देखि ११ प्रतिशत ब्याजदर, व्यक्तिगत कर्जाको ब्याजदर  १० देखि ११ प्रतिशतसम्म तोकिएको छ । बैंकको असार मसान्तसम्मको आधारदर ५.८० प्रतिशत रहेको छ । यस आधारदरमा उल्लेखित प्रिमियम दर जोडेर कर्जाको ब्याजदर कायम हुनेछ । बैंकले सम्बन्धित त्रैमासभित्रै ब्याज भुक्तान गरेमा ०.५० प्रतिशत छुट हुने जनाएको छ । यस्तै १ वर्षसम्म ब्याज र परिवर्तन हुनसक्ने रावा बैंकले जारी गरेको सूचनामा भनिएको छ । 

सेन्चुरी बैंक
यस बैंकले पनि व्यक्तिगत आवधिक कर्जा योजना सार्वजनिक गरेको छ । पाँच वर्ष अवधिको घर कर्जा ११.४९ प्रतिशत, १० वर्षका लागि ११.९९ प्रतिशत, १० वर्षभन्दा माथिका लागि १२.९४ प्रतिशत ब्याजदर कायम हुने सेन्चुरी कर्मसियल बैंकले जनाएको छ । यस्तै सवारी कर्जा र व्यक्तिगत कर्जाको ब्याजदर  ११.९९ देखि १२.९९ प्रतिशतसम्म रहेको छ । यस बैंकको भदौसम्मको बेस रेट ८.७६ प्रतिशत रहेको छ । 

नेपाल बङ्गलादेश बैंक
नेपाल बङ्गलादेश बैंकले पनि स्थिर ब्याजदर सार्वजनिक गरेको छ । यसले पाँच वर्षसम्म वा सोभन्दा बढी अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरदेखि १०.९९ प्रतिशतसम्म रहने बैंकले जनाएको छ । यस्तै घर कर्जा ९.९ देखि ११.९ प्रतिशतसम्म रहनेछ । अवधिअनुसार यो ब्याजदर  लागू हुनेछ । शैक्षिक कर्जा, प्रोफेसनलर लोनका लागि १२.९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । 

लक्ष्मी बैंक
यस बैंकले १ वर्षदेखि १५ वर्षसम्मको घर कर्जाका लागि ८.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एजुकेसनल कर्जामा पनि १ देखि १५ वर्षसम्म ८.४९ देखि १४.४९ सम्म ब्याजदर तोकेको छ । अटोलोनमा न्यूनतम ८.४९ देखि अधिकतम १३.९९ प्रतिशत ब्याजदर कायम गरेको छ । यसमा १ वर्षदेखि १० वर्ष अवधिसम्मका लागि ऋण रहेको छ ।  यता व्यक्तिगत कर्जामा पनि ९.९९ प्रतिशतदेखि १४.४९ प्रतिशतसम्म रहेको छ । यसले असोजको बेसरेट यस ब्याजदरमा कायम रहने भने पनि असोजको बेसरेट खुलाएको छैन । तथापि भाद्रसम्म यसको बेसरेट ८.३३ प्रतिशत रहेको छ । 

एनएमबी बैंक
घरकजाका लागि ९.४९ देखि १२.२४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यो पाँच वर्षदेखि १५ वर्षसम्म अवधिको हो । वातावरणमैत्री घरका लागि ०.५० प्रतिशत ब्याजदर कम हुने बैंकले जनाएको छ । व्यक्तिगत कर्जा १०.४९ देखि १३.२४ प्रतिशत सम्म छ । अटो कर्जा ९.४९ देखि ११.२४ प्रतिशतसम्म रहेको छ । 

 बैंक अफ काठमान्डु 
घर कर्जा (१० वर्षदेखि १५ वर्षसम्मका लागि) १०.९८ प्रतिशतदेखि १२.९८ प्रतिशतसम्म, हायरपर्चेज (५ वर्षदेसिख सोभन्दा माथिका लागि) ९.९९ प्रतिशतदेखि ११.४९ प्रतिशतसम्म ब्याजदर  रहेको छ । शैक्षिक कर्जा, आवास कर्जा र अन्य कर्जामा अधिकतम ११.९९ प्रतिशतसम्म ब्याजदर लिने बीओकेले सार्वजनिक गरेको नयाँ ब्याजदरमा उल्लेख छ । यसको बेस रेट भदौसम्म ७.८७ प्रतिशत रहेको छ । 

हिमालयन बैंक
हिमालयन बैंकले घर कर्जा ५ देखि १५ वर्ष अवधिका लागि उपलब्ध गराउनेछ । ५ वर्षको लागि ९.९९ प्रतिशत, १० वर्षसम्मका लागि १०.९९ प्रतिशत, १२ वर्षसम्मका लागि १२.४९ प्रतिशत रहेको छ । हायर पर्चेज कर्जा ९.९९ प्रतिशतसम्म छ । व्यक्तिगत कर्जा ९.९९ प्रतिशतसम्म रहेको छ । हिमालयन बैंकको असार मसान्तसम्मको बेस रेट ८.३८ प्रतिशतसम्म रहेको छ । 

मेगा बैंक
मेगा बैंकको घरकर्जाका लागि बेस रेटमा ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यसको अटो लोन, शैक्षिक कर्जा, व्यक्तिगत कर्जा सबैका ५ प्रतिशत तोकिएको छ । यसको बेस रेट भाद्र मसान्तसम्म ८.१० प्रतिशतसम्म रहेको छ ।  

सिद्धार्थ बैंक
सिदार्थ बैंकले १० वर्षभन्दा माथि समयको घर कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ वर्षभन्दा माथिको सवारी कर्जामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले १० वर्षभन्दा माथिको घरकर्जामा ११.२५ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । यस्तै ७ वर्षसम्मको गाडी खरिदका  लागि १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्राइम कमर्सियल बैंक
१० वर्षभन्दा माथिको घरकर्जामा साढे १२ प्रतिशत ब्याजदर छ । समयअनुसार प्राइम बैंकको ब्याजदर फरक छ ।

नबिल बैंक
नबिल बैंकले १५ वर्षसम्मको घर र गाडीको लागि ११ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ देखि १० वर्षसम्मका लागि १०.५० प्रतिशत ब्याजदर तोकेको छ ।

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले १५ वर्षसम्मको घरकर्जामा ११.९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ वर्षसम्मको गाडी खरिदका लागि ११.९९ प्रतिशत ब्याजदरमा ऋण दिने सार्वजनिक गरेको छ । समयअनुसार फरक फरक ब्याजदर कायम गरिएको छ । 

नेपाल इन्भेस्टमेन्ट बैंक
नेपाल इन्भेस्टमेन्ट बैंकले सात वर्ष अवधिको गाडी किन्न १०.७५ प्रतिशत ब्याजदरमा ऋण दिनेछ । यस्तै घर कर्जाका लागि १० वर्षको ब्याजदर साढे १२ प्रतिशत छ । बैंकले ७.९९ देखि १३ प्रतिशत ब्याजदर तोकेको छ ।