काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ। कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनलाई उक्त सहयोग प्रदान गरेको हो । फाउन्डेसनले दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माण गरिरहेको छ।
नवनिर्मित भवनमा करिब ६० जना दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबासको व्यवस्था हुने बताइएको छ। भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइ सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय पूर्वाधार समावेश गरिएको छ।
त्रिनेत्र फाउन्डेसनले यसअघि सानो भाडाको घरबाट सीमित स्रोतसाधनका बीच सेवा सञ्चालन गर्दै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्नु कम्पनीको प्राथमिकता रहेको बताए । दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा र आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अभियानमा सहकार्य गर्न पाउँदा गौरव महसुस भएको उनको भनाइ थियो।
नेपाल लाइफ इन्स्योरेन्सले जिम्मेवार व्यावसायिक अभ्यास र प्रभावकारी सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत जीवन सुरक्षासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ।






About Us
प्रतिक्रिया