सरकारको कठोर निर्णयः कोरोना संक्रमितको उपचार खर्च बीमाबाट कटाउने

सरकारको कठोर निर्णयः कोरोना संक्रमितको उपचार खर्च बीमाबाट कटाउने


बैकिङ्ग समाचार ।

सरकारले कोरोना बीमा गरेका व्यक्तिको बीमांक रकम लिने निर्णय गरेको छ ।

यदी संक्रमितले बीमा गरेको र सरकारी अस्पतालबाट उपचार गराएको भए बीमितको उपचारमा लागेको खर्च भन्दै बीमांक रकमबाट लिने निर्णय गरेको हो ।

आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउँदै सरकारले संक्रमित व्यक्तिले कोरोना बीमा गरेको भए खर्च बीमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

हाल बीमा रकम भुक्तानीका सम्बन्धमा दुई व्यवस्था छ।  एउटा, भदौ २९ गतेपछि कोरोना बीमा गरेकाहरुको उपचार खर्चवापत बीमा रकमको ७५ प्रतिशतसम्म रकम बिल भुक्तानीका आधारमा बीमा कम्पनीहरुले प्रदान गर्ने गर्दछन्। २५ प्रतिशत भने सम्बद्ध व्यक्तिले नगद प्राप्त गर्ने गर्दछन्। 

अर्को, भदौ २८ अघि बीमा गरेकालाई पिसिआर पोजेटिभपछि शत प्रतिशत रकम (१ लाख वा ५० हजार) नै भुक्तानी हुनेछ। 

कोरोना बीमा भएका तर परीक्षण र उपचार निशुल्क गरेकाहरुको अब दावी भुक्तानीअघि नै सरकारले परीक्षण तथा उपचारको खर्च कटाएर बाँकी रकम भुक्तानी हुनेछ। 

कोरोना बीमा दावीका लागि आएको निवेदनमा कुनै शंका भएमा त्यसको छानविन गर्नका लागि ‘दावी व्यवस्थापन समिति’ छ।

बीमा समिति, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र बीमक संघको प्रतिनिधी सम्मिलित सो समितिले आशंका लागेका रिपोर्टबारे छानविन गर्न सक्नेछ।

कोरोना बीमाको भुक्तानीका लागि प्रक्रिया पुर्याएर आवेदन दिएको ७ दिनभित्रमा भुक्तानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यताप्राप्त जुनसुकै प्रयोगशालामा पिसिआर परीक्षण गरेर पोजेटिभ आएकालाई बीमा दावी भुक्तानीका लागि मान्यता दिइने व्यवस्था छ।