बीमा दाबीमा गुनासो बढेपछि प्राधिकरणको चासो, समस्या परे उजुरी दिन आह्वान


काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा उजुरी दिन आह्वान गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा उजुरी दिन भनेको हो । 

बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकको कर्मचारी तथा सर्भेयरले बीमासम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत कार्य गरेको पाइएको छ । प्राधिकरणले विभिन्न गुनासाहरू प्राप्त भइरहेको सन्दर्भमा यदि बीमक, बीमकको कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले दुःख दिएमा, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुन विपरीत कार्य गरेको भए त्यस्तो कार्यमा संलग्न व्यक्तिका विरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाहीको लागि सम्बन्धित सबै सरोकारवालालाई प्रमाणसहित उजुरी पेस गर्न भनेको छ । 

उजुरी पेस गर्दा उजुरीकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको बेहोरा, बीमा दाबी नम्बर तथा बीमालेख नम्बर पुष्टि हुने कागजात, फोटो, भिडियो वा अन्य प्रमाणहरू उपलब्ध गराउनुपर्नेछ । उजुरीकर्ताले नेपाल बीमा प्राधिकरणको दर्ता शाखामा प्रत्यक्ष, प्रत्यक्ष रूपमा उपस्थित भई, इमेल र हुलाकमार्फत पनि उजुरी दिन सक्नेछन् । 

प्राधिकरणले उजुरी तथा प्रमाणहरूको गोपनीयता कायम राखी बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ ।