राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात


काठमाडौं राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र नतिजामुखी कार्यसम्पादन सम्बन्धी १०० बुँदे कार्ययोजना तथा प्रभावकारी ग्राहक सेवालाई आत्मसात् गर्दै बैंकले ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाएको हो ।

कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको हो । बैंकको यस प्रयास मार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

अनलाइन कर्जा आवेदनका लागी बैंकको आधिकारिक वेबसाइटको शिरमा रहेको क्विक एक्सेस अन्तर्गत रहेको अनलाइन लोन एप्लिकेशनको लिङ्क क्लिक गरी आरबीबी एक्समार्ट लेन्डिङ डिजिटल लोन पोर्टलमा जानुपर्नेछ । उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिस्टेसन मार्फत दर्ता गर्नुपर्नेछ । तत्पश्चात् आफ्नो नाम, सम्पर्क मोबाइल नं लगायत विवरण प्रविष्ट गरी प्राप्त निर्देशन अनुसार अगाडी बढ्नुपर्छ ।

एप्लिकेशन समिट भईसकेपछी सोको जानकारी ग्राहकलाई आउँछ र आवेदनको अवस्था ट्याक प्रोगेसमा क्लिक गरेर हेर्न सकिनेछ । ग्राहकवर्गको सहजताको लागि अनलाइन कर्जा आवेदन पोर्टलको क्यूआर कोर्ड समेत उपलब्ध गराईएको छ । अनलाईन कर्जा सेवाको भरपूर लाभ उठाउन बैंकले नागरिक, व्यवसायी एवं सरोकारवाला सबैमा अनुरोध गरेको छ ।