युनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बिक्रीमा


काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित संस्थापक समूहतर्फको हकप्रद शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो। सो शेयर सर्वसाधारण लगानीकर्ता सबैले खरिद गर्न मिल्ने गरी लिलामीमा राखेको हो।

कम्पनीले १००ः१० को अनुपातमा हकप्रद शेयर निष्काशन गरी बाँडफाँट गर्दा बाँकी रहेको सो शेयर जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमा राख्दा साविकका संस्थापक शेयरधनीबाट बोलपत्र नपरेपछि सो शेयर पुनः सबैले खरिद गर्न पाउने गरी लिलामीमा राखेको हो।

सो शेयरमा असार २५ गते साउन १ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ। उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ भने बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीमा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको छ।