नक्कली जग्गाधनी बनेर ठगी गर्ने प्रहरी नियन्त्रणमा, मालपोतका कर्मचारीको मिलेमतो

नक्कली जग्गाधनी बनेर ठगी गर्ने प्रहरी नियन्त्रणमा, मालपोतका कर्मचारीको मिलेमतो


बैकिङ्ग समाचार ।
नक्कली जग्गाधनी बनेर जग्गा बिक्री गर्न खाजेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जग्गा बिक्री गर्ने भन्दै ५० लाख रुपैयाँ बैना समेत लिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी पर्साको वीरगञ्जमा रहेको ५ कठ्ठा १५ धुर ९ कन्वा जग्गा अर्कै व्यक्तिलाई बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिनेलाई पक्राउ गरिएको जनाएको छ । सिआईबिका अनुसार ललितपुर महानगरपालिका कुसुन्तीका केवल प्रताप जंगबहादुर राणालाई पक्राउ गरिएको हो ।

सिआईबिका अनुसार राणाले कमलादेवी राजभण्डारीको नाममा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा रहेको उक्त जग्गा मालपोतका कर्मचारी समेतको मिलेमतोमा मुकेश राजभण्डारीको नाममा २०७६ फागुन १९ गते राजीनामा पास गराएका थिए । त्यसपछि उक्त जग्गा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का गिरधारी लाल अग्रवाललाई बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिएका थिए ।

उनले आफ्नो नाम मुकेश राजभण्डारी, उमेर ५० वर्ष र ठेगाना ललितपुर महानगरपालिका ३ कायम गरी ललितपुर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पनि लिएको खुलेको सीआईबीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राणा विरुद्ध राजीव राजभण्डारीले लिखत र ठगीसम्बन्धी कसूर मुद्धामा जाहेरी दिए पछि सीआईबीले राणालाई असोज २५ गते पक्राउ गरेको हो । राणालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ ।