काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो रस्साकस्सीपछि नयाँ नेतृत्व पाए पनि नेपाल बीमा प्राधिकरणको अध्यक्ष चयन प्रक्रिया भने अझै होल्डमा परेको छ। नयाँ अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समिति यतिबेला प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को ग्रीन सिग्नलको पर्खाइमा रहेको अर्थ मन्त्रालय स्रोत बताउँछ।
सेबोन अध्यक्ष सिफारिस भएपछि पनि नियुक्तिमा भएको ढिलाइ र सकसले सिफारिस समिति अन्योलमा परेको थियो। बीमा प्राधिकरणमा पनि उस्तै खालको प्रशासनिक र राजनीतिक असमझदारी नदोहोरियोस् भन्नका लागि समितिले कदम चाल्नुअघि प्रधानमन्त्रीको इसारा पर्खेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
‘सेबोनको बेला नाम सिफारिस गरेर पठाउँदा पनि नियुक्ति हुन निकै समय लाग्यो। बीमा प्राधिकरणमा पनि त्यस्तै लफडा नहोस् भनेर समितिले पहिले नै प्रधानमन्त्रीज्यूको मुड बुझ्न खोजेको देखिन्छ,’अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अब सेबोनको गाँठो फुकिसकेकाले प्राधिकरणको प्रक्रिया पनि चाँडै अघि बढ्ने सम्भावना देखिन्छ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित समितिले गत जेठ १३ गते सूचना जारी गर्दै खुला दरखास्त आह्वान गरेको थियो। अर्बौँको बीमा बजार हाँक्ने यो शक्तिशाली पदका लागि ५० जनाले आवेदन दिएका छन्।
कार्यविधि अनुसार समितिले ती आवेदकहरूमध्येबाट योग्यताका आधारमा सर्टलिस्ट तयार गरी अन्तर्वार्ता लिनुपर्ने र उत्कृष्ट ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनुपर्ने हो। तर, ती ५० वटै फाइलहरू अहिले अर्थ मन्त्रालयको दराजमा थन्किएर बसेका छन्।
बीमा प्राधिकरणमा अध्यक्ष नियुक्तिको खेल निकै रोचक बन्दै आएको छ। यसअघि ९ महिनासम्म लगाएर अगाडि बढाइएको सम्पूर्ण प्रक्रियालाई गत जेठ ६ गते अचानक रद्द गरिएको थियो। त्यसको एक हप्ता नबित्दै जेठ १३ मा नयाँ विज्ञापन त खोलियो, तर नतिजा फेरि पनि अन्योल छ।
अध्यक्ष छनोट समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, विज्ञ सदस्यमा तत्कालीन बीमा समितिका अध्यक्ष प्रा.डा. फत्त बहादुर केसी र अर्थ सचिव डा. घनश्याम उपाध्याय छन्। यसबीच अर्थ सचिवको सरुवाको चर्चापछि पनि सिफारिस समिति सशंकित देखिएको मन्त्रालय स्रोत बताउँछ। सरकारले गत वैशाख ८ गते नै समिति गठन गरे पनि स्वायत्त नियमनकारी निकाय बीमा प्राधिकरण नेतृत्वविहीन छ।






About Us
प्रतिक्रिया