यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो ३२ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयरधनीलाई ३२ औँ वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीका असार ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार उक्त सभा यही असार ३१ गते अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनीमा बस्ने निर्णय भएको छ। सो सभा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।

सो सभाको विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हाल चुक्ता भएको पूँजीको २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको पारित गर्नेछ। त्यस्तै, उक्त साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण माथि छलफल गरी पारित गरिनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले यही असार १९ गते शेयरधनी दर्ता किता बन्द (बुक क्लोज) गर्ने भएको छ। जसर्थ, असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नियमानुसार कम्पनीको शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।