‘नबिल बैंकलाई थप अब्बल बनाउन ‘रोडम्याप’ तयार पार्दै छौँ’

‘नबिल बैंकलाई थप अब्बल बनाउन ‘रोडम्याप’ तयार पार्दै छौँ’


मनोज ज्ञवाली, नायव महाप्रबन्धक, नबिल बैंक 
बैकिङ्ग क्षेत्रमा करिब २१ वर्षको अनुभव बटुलेका मनोज ज्ञवाली अहिले नबिल बैंकमा नायव महाप्रबन्धक पदमा कार्यरत छन् । भर्खरै मात्रै ज्योती विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिकालाई छाडेर उनी त्यहाँ पुगेका हुन । चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ । ग्लोबल आइएमइ बैंक र मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रहीकम्पनीमा समेत उनले काम गरिसकेका छन्। यस्तै बैंक तथा वित्तिय संस्थाहरुमाा माथिल्लो व्यवस्थापन तहमा बसेर काम गरिसकेका उनीसँग बैकिङ्ग क्षेत्रको पछिल्लो अवस्था, बैकिङ्ग क्षेत्रमा कोभिडको असर, नबिल बैंकका अगामी मुभमेन्ट लगायतका विषयमा बैकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः

विभिन्न बैंकहरुको भुमिकामा रहँदै अहिले नबिल बैंकमा पुग्नुभएको छ । कस्तो लागिरहेको छ ? 

नबिल बैंक एउटा ब्रान्ड हो । यस्तो ब्रान्ड जसले आम ग्राहकको मन जित्न सफल बनेको छ । यस्तो बैंकको नायव महाप्रवन्धक जस्तो माथिल्लो पदमा बसेर काम गर्न पाउँदा खुशी लागेको छ । विगतमा पनि ज्योती विकास बैंकमा डेपुटी सिईओबाट नियुक्त भई प्रमुख कार्यकारीको भूमिका रहँदाको अनुभव छुट्टै थियो । अहिले आफ्नो करिअरलाई अगाडि बढाउँदै गर्दा ठुलो ठाउँमा आफुले कस्तो छाप छाड्न सकिन्छ भन्नेमा म लागेको छु । 

एउटा राष्ट्रिय स्तरको विकास बैंकको कार्यकारी भूमिकालाई छाडेर ‘डिजिएम’ हुदाँ आफ्नो करिअरबाट ‘ब्याक’ भएजस्तो देखिन्छ नि ?

पद र भूमिका भनेका चलचित्रका अभिनेताहरुले गर्ने अभिनय जस्तै हो । आफ्नो भूमिका अनुसारको राम्रो अभिनय गरेपछि चलचित्र हिट हुन्छ र अन्य चलचित्र खेल्ने अफर पनि आउँछ । भुमिका कहिल्यै पनि सानो ठुलो हुँदैन । त्यसैले आफु आसिन पदमा बसेर अत्यन्तै अब्बल भुमिका निर्वाह गर्दै यसमा आफुले नयाँ गर्नुपर्छ । उदाहरण नै दिने हो भने नबिल बैंककै कुनै सिनियर म्यानेजर कुनै पनि विकास बैंकको सिईओ भएर जाने अफर आयो भने नजान सक्नुहुन्छ।  मर्जर भइसकेपछि कर्मचारी समायोजन हुँदा त सबैले आफैले चाहेको पद नपाएको हामीले देखेका छौँ भने मेरो ईन्ट्रि त ट्यालेन्ट हन्टबाटै भएको हो। हिजो संगै काम गर्दै गर्दाका समकक्षी साथिहरु अहिले कहाँ हुनुहुध्छ र म अहिले कहाँ छु भनेर यसो नियालेर हेर्दा सन्तुष्ट नै छु। म अहिले चाहन्छु, मेरो भुमिकामा न्याय गर्न सकूं।

सधैं तरलता अभाव झेलिरहने नेपाली बैंहरुले अहिले अधिक तरलताबीच गुज्रीरहेका छन् । के यसले कर्जाको ब्याजदरमा फरक पार्छ ? 

फरक पारिसकेको छ । हिजो नेपाली बैंकहरुले ११/१२ प्रतिशतमा कर्जा लैजानुस भनेर दौडिरहेका थियौँ ।  आज ७÷८ प्रतिशतमा कर्जा प्रवाह गरिरहेको छ । अन्य बैंकहरुले पनि भटाभट विज्ञापन गरिरहेका छन् । कोभिड १९ को संक्रमण तिब्र गतिमा फैलिरहँदा नयाँ कर्जाको माग ह्वात्तै घट्यो, एकोहोरो निक्षेप संकलन मात्रै बढ्यो र रेमिट्यान्स पनि घट्छ होला भन्ने सोचेको त झन २३ प्रतिशतले वृद्धि भयो । यसकारण बैंकहरुमा अधिक तरलता थपिएको हो । तरलता थपिँदा बैंकहरुको बेसरेटमा फरक पार्छ । बेसरेटमा फरक पर्नु भनेको कर्जाको ब्याजदरमा फरक पर्नु हो । तर, अहिले नेपाली बैंकहरुमा देखिएको तरलता त्यती धेरै भने होइन । अहिले बैंकहरुको साईज ठुलो भइसकेको छ । नबिल बैंकको कुुरा गर्दा हामीले एउटै ग्राहकलाई रु १३ अर्ब त्रण दिन सक्छौँ । एउटै ग्राहकलाई यती धेरै रकमको कर्जा दिन सक्नु भनेको बैंकहरुको साईज बढेको भन्ने बुझिन्छ ।

अहिले केही बैंकहरुले व्यक्तिगत मुद्दती निक्षपमा ९ प्रतिशतसम्म ब्याज अफर गरिसकेका छन् । के यो अब ब्याजदर बढ्ने संकेत हो ?

मुद्दती निक्षेपमा बैंकले दिने ब्याजदर बढिसक्यो । नबिल बैंकले पनि निक्षेप संकलनमा ९ प्रतिशतसम्म दिन सक्छ । यस्तै घर तथा गाडी कर्जा ७.५ प्रतिशतमै दिन सक्छ । अहिले बैंकहरुले राष्ट्र बैंकले दिएको निर्देशन अनुरुप नै स्सप्रेडदर ४.४ कायम गरेका छन् । यसले गर्दा बैंकको आम्दानीमा केही हदसम्म गिरावट आउन सक्छ तर आम ग्राहकहरुले भने सस्तो ब्याजमा ऋण पाउन सक्छन । नबिल बैंकले पनि व्यक्तिगत मुद्दतीमा ९ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । यस्तो खाताको अवधि कम्तिमा १३ महिनादेखि २४ महिनासम्म छ । ५ वर्षदेखि १० वर्षसम्मको अवधिका लागि मुद्दती खाता खोल्ने व्यक्तिगत लगानीकर्ताले भने साढे ९ प्रतिशतसम्म ब्याज पाउँछन् । 

राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा निश्चित ब्याजदर तोक्ने निर्देशन दिएको छ । तपाइर्हहरुको बैंकले कहिले तोक्ने योजना बनाएको छ ? 

हामी यसमा काम गर्दै छौं । यही महिनाको मसान्तसम्मा हामीले निश्चित ब्याजदर तोक्ने योजना बनाएका छौा । धेरै बैंकहरुले तोकेका छैनन। तर, केन्द्रीय बैंकलाई यस्तो निर्देशन दिन बाध्य पारेको हामीले नै हो । कसरी भन्दा, हामीले एउटा ग्राहकलाई ६.९९ प्रतिशतमा अटो लोन दियौं, फेरी  अर्का ग्राहकलाई ६.५ प्रतिशतमा घर कर्जा दियौं । तर, पछि हामीले सोही कर्जाको ब्याजदर  १४/१५ प्रतिशतसम्म पुर्यायौ भने उसको आम्दानीले थेग्न सक्छ त ? के हामीले न्याय गर्यौ त ? त्यसैले बैंकहरुले कर्जाको खतरा मोल्नै चाहेनन । फगत, त्यस कर्जाको मार बैंकहरुले ग्राहकको टाउकोमा थुपार्ने काम गरे । त्यसैले राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा निश्चित ब्याजदर तोक्न बैैंकहरुलाई निर्देशन दिएको हो । 

७.५ प्रतिशत ब्याजमै सेयर धितोमा राखेर ऋण पाइने नयाँ व्यवस्था अलिक फरक र नयाँ छ ? यस्तो ऋण कसरी लिने ?

नबिलको यो योजना नयाँ त होइन । तर ब्याजदर अत्यान्तै न्युन हो । हालसालै प्रकाशित ७.७५ प्रतिशतमै सेयर धितोमा कर्जा दिने योजना आम जनतामाझ उत्साह पनि थपेको देखिएको छ । ५० लाख रुपैयाँभन्दा बढी ऋण लिनेले यो सुविधा प्राप्त गर्दछन् । तर, बैंकबाट २० लाख रुपैयाँ माथिको ऋण पनि सेयर धितो राखेर नै लिन पाइनेछ । २० देखि ५० लाख रुपैयाँसम्म यस्तो ऋण लिनेले भने आधार दरमा १.५ प्रतिशत प्रिमियम थपेर ब्याजदर तिर्नुपर्ने हुन्छ । असार मसान्तमा ७.३२ प्रतिशत रहेको नबिल बैंकको आधार दर अहिले ६ प्रतिशत छ । 

केभिड–१९ का कारणले गर्दा बैकमा खराब कर्जा बढ्ने देखिन्छ ? तपाईको बैंकको अवस्था के छ ? 

कोरोना प्रभाव सँगै निष्क्रिय कर्जा त बढ्ने देखिन्छ । राष्ट्र बैंकबाट जारी तथ्याकंलाई हेर्दा खराब कर्जा अनुपात २ प्रतिशत भन्दा तल छ । पर्यटकीय क्षेत्रमा हामीले पनि कर्जा प्रवाह गरेका छौँ । व्यवसाय ठप्प हुँदा त्यहाँबाट साँवा तथा ब्याज उठाउन गाह्रो छ । तर, त्यती आत्तिहाल्नु पर्ने अवस्था भने छैन । वर्तमान अवस्थामा मुद्रास्फिती ३.५ प्रतिशतभन्दा तल छ, निर्यात ८.९ प्रतिशतले बढ्दै गर्दा आयात १९.६ प्रतिशतले घटेको छ, रेमिटेन्स २३ प्रतिशतले बढेको छ, शोधान्तर स्थीती  रु. ५१.५ अर्बले बचतमा छ, नेपालको कूल बिदेशी मुद्रा सञ्चित रु. १४ खर्ब बढि छ, सेयर बजारमा पनि उत्साह देखिन्छ । यसका केहि कारणहरू पनि छन तर हामीले जति अर्थतन्त्रको नकारात्मक प्रक्षेपण गरेको थियौं, त्यस्तो देखिएको छैन । यसरी प्रकाशित तथ्याङ्कहरू उत्साहजनक हुँदा पनि जनस्तरमा भने अर्थतन्त्रलाई लिएर निरासा बढि देखिन्छ । कोरोनाको असर बैंक तथा वित्तिय क्षेत्रमा ढिलो देखिन्छ भने यसरकोे पुर्नजागरण गर्न पनि ढिलो मात्रै हुन्छ । 

पुर्नकर्जाको लागि आवेदन लिइरहनुभएको छ ? यसले कत्तिको उत्साह थपेको जस्तो लाग्छ ?

यो व्यवस्था नयाँ होइन । हाम्रो बैंकका थुप्रै ग्राहकहरुले पनि यो कर्जा लिइरहेको अवस्था छ । तर, कोरोना भाइरस र यसको असरका कारणले गर्दा केही व्यवसायहरुलाई सहयोग पुग्नेगरी नियामक केन्द्रीय बैंकले यसलाई बढवा दिएको मात्रै हो । यसमा हामीले पनि ग्राहकहरुलाई पुर्नकर्जाका लागि आवेदन दिन आग्रह गरिसकेका छौँ । त्यसपछि हामीले राष्ट्र बैंकमा निवेदन दिन्छौँ । केन्द्रीय बैंकले कर्जाको माग, संकट अवस्था र प्रभावित क्षेत्र लगायतका विषयलाई हेरेर कर्जा दिन्छ । यस्तो कर्जाको ब्याजमा सहुलियत हुने हुनाले हाम्रा ग्राहकहरुलाई फाइदा हुन्छ । त्यसैले हामीले पुर्नकर्जामा हामीले आवेदन त लिनैपर्छ । यसले ग्राहकलाई उत्साह त पक्कै नै थपेको छ । किनभने यसले ग्राहकलाई एक किसिमको ‘कम्फर्ट’ दिएको  छ । ग्राहकलाई सहज हुनु भनेको बैंकलाई नै फाईदा हुन्छ । हामी ग्राहकको वित्तिय सल्लाहकार पनि हो । सरल सेवा प्रदान सँगसँगै वित्तिय ज्ञान बांढ्ने काम पनि हाम्रै हो । 

आजको अवस्थामा नेपालका बाणिज्य बैंकहरुको ब्याजदर पनि लगभग एउटै, सेवा तथा सुविधाहरु पनि एकै प्रकारका छन् । यस्तोमा नबिल बैंकको प्रतिस्पर्धा कहाँनेर छ  ?

\"\"नबिल बैंक विस्तारै डिजिटलाईज बन्दै छ । हामीले डिजि बैंकको नामले पनि अगाडि बढ्दै छौँ । त्यसमा हामीले अलग्गै काम गरेका छौँ  । भर्खरै १ लाखसम्मको ऋण मोवाइलमा क्लिक गर्ने वित्तिकै पाइने व्यवस्था नबिल बैंकले गरेको छ । यस्तै नबिल आम ग्राहकको गाह्रो साह्रोमा हातमा हात मिलाउने बैंकको रुपमा परिचित छ । घरबेटीलाई भाडा तिर्न नसक्दा, विद्यालयलाई पैसा तिर्न नसक्दाको अवस्थामा नबिल बैंकले हात मिलाएको छ । त्यसैले त नबिल बैंक लोकप्रिय छ । यस्तै बैंकको सञ्चालक समितिमा ३ जना त कार्यकारी भूमिका निर्वाह गरिसक्नुभएका व्यक्तित्वहरु हुनुहुन्छ ।
यस्तै बैंकको सिईयो, बैकर्स संघको अध्यक्ष र एसिया प्यासिफिक ग्लोबल अलाईन्स फर बैकिङ्ग अन भ्यालुजको नेपाल स्थित प्रतिनिधि हाम्रो सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ। दशकौ त सिइयो कै भुमिकामा रहनुभएको सफल सिईयोले ब्यबस्थापन लिड गर्नुहुन्छ। नेपालको उधमशीलतामा गर्व गर्नुपर्ने सिजि समूहले बहुमत शेयर धारण गर्छ। दशकौ बैकिङ अनुभव भएको अनुभवी टिम हामीसँग छ।
जोखिम ब्यबस्थापन र अनुपालनलाई उच्च प्राथमिकतामा राखेर बैकले गत बर्षको ब्यबसाय सफलतापुर्वक सञ्चालन गरि ग्राहक, शेयरधनी, नियामक र सरकारको मन जितको छ।आफ्नो पुँजी भन्दा डेढ गुणा बढि त बैकले सरकारलाई आयकर नै बुझाइसकेको छ।यो भनेको संस्थागत सुशासन प्रतिको प्रतिवद्धता हो । यस्ता खाले प्रतिवद्धताले  पनि हामीलाई फरक बनाएको छ । आजको अवस्थामा हाम्रो टिम बलियो छ, अनुशासन छ, पारदर्शी छ, मलाई लाग्छ संस्थालाई अगाडि बढ्न यती भए पुग्छ । 

अन्तमाः आम ग्राहकहरुलाई के भन्न चाहनुहुन्छ ?

अहिलेको समय अत्यन्तै सोेचनीय छ । कोरोना महामारीलाई हामीले झेल्नुपर्र्ने छ । यस्तो अवस्थामा ग्राहकहरुले हामीलाई र बैंकले ग्राहकलाई सक्दो सहयोग गर्नुपर्छ । आत्तिहाल्नुपर्ने त्यस्तो अवस्था अहिलेसम्म आइसकेको छैन । जस्तै कुवामा कोही मान्छे फसिरहेको छ भने हामीले माथिबाट डोरी दिँदा कुवामै फसेको मान्छेले समात्न पर्यो नि१ हामी आफैँ गएर उसलाई धकाल्ने कुरा त आउँदैन । यसकारण तपाई हामीलाई सहयोग गर्नुस हामी तपाईलाई साथ दिन्छौं । यसरी हामी हातमा हात मिलाएर अगाडि गयौं भने कोरोना महामारीलाई सजिलै जित्न सक्छौं । ग्राहकहरुको नबिल बैक प्रतिको बिश्वास र साथको लागि हार्दिक आभार पनि ब्यक्त गर्न चाहन्छु। 

\"\"