नेपाललाई कस्तो प्रभाव पर्छ ?

इरान र अमेरिकाबीच युद्ध अन्त्यको सम्झौता, अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको मूल्य


एजेन्सी- अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता भएको छ। झन्डै दुई महिनाभन्दा लामो समयदेखि आपसी द्वन्द्वमा रहेका यी दुई राष्ट्र अनिश्चितकालिन युद्ध अन्त्यका लागि सम्झौतामा पुगेका हुन्। तर, अन्तिम सम्झौता भने शुक्रबार हुने बताइएको छ। सम्झौताको खाकाअनुसार अमेरिकाले इरानी बन्दरगाहमा लगाएको प्रतिबन्ध फुकुवा गर्नेछ। यस्तै, इरानले स्ट्रेट अफ हर्मुजलाई खुला गर्नुपर्नेछ। यससँगै, अमेरिकाले सुरु गरेको युद्ध अन्त्यको नजिक पुगेको हो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सत्ता परिवर्तनको लक्ष्यसहित सैन्य हमला सुरु गरेका थिए। तर, आफ्नो लक्ष्य र उद्देश्यमा सफल हुन नसकेपछि लामो समयदेखि अमेरिका युद्ध विराम कायम गरेर क्षति न्यूनीकरणमा लागेको थियो।

इरानको सिंगो सभ्यता नै ध्वस्त बनाइदिने धम्की दिए पनि इरान युद्धमा अमेरिकाले नराम्रो हार बेहोरेको पश्चिमा मिडियाहरूको नै दाबी छ। फलरुवरुपः अमेरिका इरानसँग सम्झौता गरेर शान्ति स्थापनामा लागेको हो। अमेरिकाले कयौँ कोसिस गर्दा समेत स्ट्रेट अफ हर्मुज खोल्न सकेन। जसलाई इरानलाई आफ्नो बलियो हतियारकारुपमा राख्यो।

यससँगै अमेरिका र इरान शान्ति सम्झौता नजिक पुगेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ। ओइल प्राइस डटकमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडआयलको मूल्य प्रतिब्यारेल ८३ अमेरिकी डलरमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको प्रत्यक्ष असर नेपालमा समेत पर्नेछ। हाल प्रतिलिटर २०० रुपैयाँभन्दा बढी पुगेको डिजेल र पेट्रोलको मूल्य पुनः २०० रुपैयाँ प्रतिलिटरभन्दा तल झर्ने आँकलन गर्न थालिएको छ।