काठमाडौं – बैंकहरुमा १३ खर्बभन्दा धेरै रकम थुप्रिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंकरहरुसँग छलफल गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यतिबेला बैंक तथा वित्तीय संस्थामा १३ खर्ब रुपैयाँभन्दा बढी थुप्रिएको छ। यही लगानीयोग्य रकम बैंकमा थुप्रिएपछि उद्योग मन्त्रालयले बृहत् छलफल गरेको हो।
उद्योगमन्त्री गौरी कुमारीको चाहनामा मन्त्रालयले बुधबार दिउँसो १ बजे नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालयसहित वाणिज्य बैंक, विकास बैंकमा र वित्त कम्पनीहरुबीच लगानी वृद्धिका लागि वृहद छलफल गरेको हो। बैठकमा सहभागी एक प्रमुख कार्यकारी अधिकृतले बैंकिङ्ग समाचारलाई बताएअनुसार २२–२५ जना प्रतिनिनिधहरु सो बैठकमा सहभागी थिए।
जसमा नेपाल राष्ट्र बैंकबाट डेपुटी गभर्नर किरण पण्डितसहित अनुसन्धान विभागका सत्येन्द्र तिमल्सिनाको उपस्थिति थियो। यसैगरी, अर्थमन्त्रालयका सहसचिवहरू समेत सो बैठकमा उपस्थित थिए भने वाणिज्य बैंकका सीईओहरु, विकास बैंकका सीईओहरु र वित्त कम्पनीका सीईओहरुको उपस्थिति थियो। सोक्रममा उद्योग मन्त्रालयले उद्योगीहरूको मनोबल बढाउने नीतिसहित कर्जा लगानी हुन नसक्नुको कारण खोतल्ने प्रयास गरेको बैठकमा सहभागीहरूले बैंकिङ्ग समाचारसँग बताए। तर, ठोस निर्णय भने नभएको बताइएको छ।





About Us
प्रतिक्रिया