बजेट कार्यान्वयनमा गएपछि अर्थतन्त्र सुधार हुँदै जान्छः सहसचिव आचार्य


काठमाडौं – अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले बजेट कार्यान्वयनमा गएपछि अर्थतन्त्र सुधार हुँदै जाने बताएका छन्। चौथो नेशनल बैंकिङ्ग डिश्कोर्स २०२६ को पहिलो सत्र ‘कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल ?’ मा छलफल गर्दै सो बताएका हुन्।

सहसचिव आचार्यले भने, ‘सरकारको बाटो वा सोच के हो भन्ने बजेटबाट छर्लंग भएको छ। पक्कै छलफल हुने गरेको छ। आर्थिक नीति प्रधानमन्त्री तहसम्मै छलफल भएर आएको छ। अधिक तरलतामा मेरो फरक मत छ। भारतसँग स्थिर विनमय दर प्रणाली छ। विदेशी मुद्रा सञ्चिति बढिरहेको छ। यसले तरलता बढाएको छ।बजारमा अधिक तरलता छ। यो राम्रो पनि हो। ब्याजदर बढी भएर लगानी निरुत्साहित भयो भनेर नीतिगत दर घटाइयो। दक्षिण एसियामै दर कम छ। कर्जा प्रवाह पनि अघिल्लो वर्षभन्दा बढेको छ।’ उनले बजेटले सुधारका लागि पहलकदमी लिएको बताए।

सहसचिव आचार्यले भने, ‘सरकारले बिग पुसको रुपमा ठूला परियोजना समन्वय गर्ने हिसाबले बजेट राखिएको छ। पुँजीगत शिर्षकमा मात्रै राखिने पैसा पुँजीगत होइन। वित्तीय हस्तान्तरणमा पनि पुँजीगततर्फ हुन्छन्। चालु खर्च कामै नलाग्ने पैसा होइनन्। यसले पनि अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ।’ साथै, उनले सरकारले सुशासन र आइटीलाई केन्द्रमा राखेर कार्यक्रम ल्याएकाे बताए।