काठमाडौं – सरकारले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको मापदण्ड विपरीतका बत्ती (हेडलाइट) र प्रेसर हर्न जडान गरी गुडाउने चालकमाथि कडा कारबाही गर्ने भएको छ। यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै स्वीकृत मापदण्ड बाहिरका सामग्री जडान नगर्न सचेत गराएको हो।
पछिल्लो समय सवारी साधनको हेडलाइटको नजिक वा अन्य भागमा भिन्न प्राविधिक स्पेसिफिकेशन भएका बत्तीहरू (जस्तैः बढी क्षमताका एलइडी वा लेजर लाइट) राख्ने क्रम बढेकाले दुर्घटनाको जोखिम बढेको विभागले जनाएको छ। यस्ता तीव्र प्रकाश भएका बत्तीका कारण विपरीत दिशाबाट आउने सवारी साधन र पैदल यात्रीलाई बाधा पुगी गम्भीर दुर्घटना हुने गरेको सरकारी निष्कर्ष छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार विभागको अनुमति विना सवारी साधनको साँचो वा प्राविधिक स्वरुप (स्पेसिफिकेशन) हेरफेर गर्न पाइँदैन।
सवारी निरीक्षण तथा परीक्षण मापदण्ड २०७४ अनुसार बत्ती र हर्नको क्षमता तोकिएको छ। डिप वा कम विमको हेडलाइटमा १५ हजारदेखि ३० हजार क्यान्डेलासम्म प्रकाशको तीव्रता हुनुपर्ने व्यवस्था छ। हाई विम हेडलाइटमा प्रत्येक हेड ल्याम्पको १ लाख क्यान्डेलाभन्दा कम र चारवटै हेड ल्याम्पको कुल क्षमता २ लाख क्यान्डेलाभन्दा कम हुनुपर्ने उल्लेख छ। हर्नको ध्वनि क्षमता पनि न्यूनतम ९० डेसिबलदेखि अधिकतम ११२ डेसिबलसम्म मात्र हुनुपर्ने भनिएको छ। विभागले सवारी साधनमा आफूखुसी प्रेसर हर्न वा मापदण्ड विपरीतका बत्ती जडान गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।








About Us
प्रतिक्रिया