काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को दोस्रो सत्रमा मध्यस्थकर्ता (मोडरेटर) काे भूमिका सञ्चारकर्मी विजय पौडेलले निर्वाह गर्ने भएका छन्। पौडेलले बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजको आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्रको मोडरेटरको भूमिका निर्वाह गर्ने भएका हुन्।
उनले ‘कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ विषयक सत्रमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्। यो सत्रमा छलफलका लागि योजना आयोगको पूर्व उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ, राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख एवम् प्रवक्ता ढुण्डीराज लामिछाने, मुक्तिनाथ कृषि कम्पनी निर्देशक, भरत राज ढकाल र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल सहभागी हुनेछन्।
करिब तीन दशक पत्रकारिता क्षेत्रमा बिताएका पौडेलको विशेष योगदान समाचार सम्पादन र टेलिभिजन पत्रकारितामा रहेको छ। लामो समय कान्तिपुर टेलिभिजनमा कार्यरत रहेका उनले उक्त संस्थाको प्रधान सम्पादकका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका छन्। सगरमाथा एफएमबाट पत्रकारिता सुरु गरेका पौडेलसँग च्यानल नेपाल, एपीवान टेलिभिजन, इमेज च्यानल, नेपाल लाइभ अनलाइनमा सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ।
बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।






About Us
प्रतिक्रिया