काठमाडौं – एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत झापा र बाराका विद्यालय तथा परोपकारी संस्थालाई विभिन्न सहयोग सामग्री प्रदान गरेको छ।
बैंकले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’लाई फर्निचर तथा बेड उपलब्ध गराएको छ भने बाराको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाको मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ।
बैंकका अनुसार जेठ २१ गते आयोजित कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले ‘हाम्रो साझा घर’की अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका थिए। उक्त संस्थामा हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरूलाई आश्रय र हेरचाहको व्यवस्था गरिएको छ।
त्यसैगरी, जेठ २२ गते सम्पन्न कार्यक्रममा वीरगन्ज सर्कल हेड गोपाल प्रसाद सुवेदीले श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप र प्रोजेक्टर प्रदान गरेका थिए। सोही दिन केन्द्रीय सञ्चालन विभाग प्रमुख श्रेष्ठ र सर्कल हेड सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्ट बोर्ड र ल्यापटप हस्तान्तरण गरेका थिए।
श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी र श्री अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
बैंकले प्रदान गरेको सहयोगबाट वृद्धाश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवन सहज र स्वास्थ्यकर बन्ने तथा विद्यालयहरूमा डिजिटल सिकाइ अभ्यासलाई सुदृढ बनाउन, विद्यार्थी सहभागिता बढाउन र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।






About Us
प्रतिक्रिया