चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श: दोस्रो सत्रको वक्ताका रूपमा सीईओ खनाल सहभागी हुने 


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रूपमा राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल सहभागी हुने भएका छन्। खनाल बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजनकाे संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘कृषिमा लगानी विस्तार– बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा वक्ताका रूपमा सहभागी हुने भएका हुन्।  

सन् १९७३ मा गोरखामा जन्मिएका खनालले २०४५ सालमा आफ्नो एसएलसीसम्मको अध्ययन गोरखाबाटै पुरा गरेका हुन्। नेपाल चार्टर्ड एकाउन्टेन्टस् समेत रहेका खनालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। साथै कानूनमा एलएलबी गरेका छन्। २०६४ सालमा आठौं तहबाट बैंकमा सेवा प्रवेश गरेका खनाल प्रादेशिक कार्यालयमा विभागीय प्रमुख हुँदै, नायब महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, कायम मुकाय सीईओ हुँदै सीईओ भएका हुन्।  

उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्। 

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।