काठमाडौं – नेपाल राष्ट्र बैंकद्वारा गठित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको व्यवस्थापन समूहले बैंकको सुधार प्रक्रियामा बाधा पुर्याउने गरी भइरहेका अवाञ्छित गतिविधिहरू प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समूहले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई सकारात्मक सहयोग गर्न आग्रह गरेको हो।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको ०८१ साल पुस १० को निर्णयानुसार ‘ख’ वर्गको मान्यता प्राप्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड लाई समस्याग्रस्त घोषणा गरिएको थियो। त्यसयता राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले संस्थाको व्यवस्थापन र सञ्चालन नियन्त्रणमा लिएर सुधारका कार्यहरू अगाडि बढाउँदै आएको छ।
व्यवस्थापन समूहले जिम्मेवारी सम्हालेपछि बैंकको अवस्था सुधार गर्न र निक्षेपकर्ताको हित संरक्षणका लागि आवश्यक कदमहरू चालेको विज्ञप्तिमा उल्लेख छ। बैंकको निक्षेप अपचलन (हिनामिना) मा संलग्न रहेका व्यक्तिहरू विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। संस्थाबाट प्रवाह भएको कर्जा असुलीलाई तीव्र बनाइएको छ।
सोही असुलीको आधारमा हालसम्म ४७ करोड ९४ लाख रूपैयाँ निक्षेप फिर्ता भुक्तानी भइसकेको छ। कर्जा असुलीकै आधारमा बाँकी निक्षेप भुक्तानी गर्ने र संस्थाको सुदृढीकरण गर्ने कार्य क्रमशः अगाडि बढिरहेको समूहले जानकारी दिएको छ।
विगत केही दिनदेखि बैंक र व्यवस्थापन समूहलाई नै लक्षित गरी अवाञ्छित गतिविधिहरू भइरहेको भन्दै समूहले चिन्ता व्यक्त गरेको छ। ‘व्यवस्थापन समूह सम्पूर्ण निक्षेपकर्ताको हकहित र निक्षेप सुरक्षाको लागि कटिबद्ध रही कार्यसम्पादन गर्दै आएको छ।
यस्ता गतिविधिहरूले बैंकको सुधार प्रक्रियामा थप गतिरोध उत्पन्न गर्ने भएकाले यस्ता कार्य नगर्न, नगराउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ। व्यवस्थापन समूहले समस्याको उचित समाधानका लागि निक्षेपकर्ता, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाहरूलाई धैर्यवान् भई सकारात्मक सहयोग पुर्याउन समेत अपिल गरेको छ।






About Us
प्रतिक्रिया