काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श दोस्रो सत्रमा वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सहभागी हुने भएका छन्। पौडेल बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘कृषिमा लगानी विस्तार: बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा वक्ताका रूपमा सहभागी हुने भएका हुन्।
वि.सं. २०३१ सालमा स्याङ्जामा जन्मिएका पौडेलले वि.सं २०५९ देखि सहायक निर्देशकको रूपमा नेपाल राष्ट्र बैंकबाट सेवा प्रवेश गरे। उनले अर्थशास्त्रमा एमफिल र त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन्। पौडेलले मौद्रिक नीति सम्बन्धी, बृहत् अर्थशास्त्र सम्बन्धी, वित्तीय स्थिरता सम्बन्धी, भुक्तानी प्रणाली र केन्द्रीय बैंकबाट एन्टि मनी लान्डड्रिङ्ग लगायतका तालिम प्राप्त गरिसकेका छन्। उनले हालसम्म संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, कोरिया, अर्जेन्टिना, इन्डोनेसिया लगायतका देशहरू भ्रमण गरिसकेका छन्।
उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्य: एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।
डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ, भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन रहेको छ, भने नलेज पार्टनरमा काठमाडौं फिनटेक रहेको छ।






About Us
प्रतिक्रिया