कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरुपयोग गरेको अभियोगमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष पाण्डे पक्राउ


काठमाडौं – प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी)ले राम जानकी हेल्थ फाउण्डेसनको सञ्चालक समितिको अध्यक्ष ओम प्रसाद पाण्डेलाई पक्राउ गरेको छ। 

उनले कृषि वन तथा पशु चिकित्सा विज्ञान संस्थान नामक कृत्रिम व्यवसाय खडा गरी विस्तृत परियोजना योजना बिना नै कर्जा लिएको खुल्न आएको छ। प्रहरीका अनुसार उनले धितोको अस्वभाविक रुपमा बढी मुल्यांकन गरी प्रभु बैंक लिमिटेडबाट कर्जा लिएका हुन्।

उनले जुन प्रयोजनको लागि कर्जा लिएको हो सोको अन्यत्र प्रयोग गरी गराई पटक पटक कर्जाको दुरुपयोग गरेको सीआईबीको भनाइ छ। उनलाई  बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो।

पाण्डेलाई उच्च अदालत पाटन ललितपुरबाट पक्राउ गर्ने अनुमति लिई आज धनुषाको छिरेश्वरनाथस्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको सीआईबीले जनाएको छ।