इन्धनको मूल्यवृद्धिले निर्माण व्यवसायीहरुलाई १० अर्ब बढी नोक्सानी, समस्या सम्बोधन गर्न परिसंघको अनुरोध


काठमाडौं – मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यबृद्धिले नेपाली अर्थव्यस्था समेत प्रत्यक्ष प्रभावित बनेको देखिएको छ । नेपाल उद्योग परिसंघले मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई मात्रै १० अर्ब भन्दा बढी नोक्सानी भइसकेको उल्लेख गरेको हो ।

मध्यपूर्वको युद्ध अघि (फेव्रेवरी १५) डिजेल प्रति लिटर रु. १ सय ३९ रहेकोमा हाल प्रति लिटर २ सय २५ र बिटुमिनको मूल्य प्रति के.जी ७५ बाट रु. १ सय ५५ पुगेको छ । निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिनसहितका निर्माण सामाग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले गराएको जानकारीले परिसंघलाई चिन्तित बनाएको उल्लेख गरेको छ ।

निर्माण परियोजना प्रभावित हुँदा यससँग प्रत्यक्ष सरोकार राख्ने अन्य उद्योगहरुमा समेत शिथिलता आउन सक्ने भएकाले, निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाबलाई कम गर्न तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरुको समस्यालाई उचित सम्बोधन गरिदिन परिसंघले आग्रह गरेको हो ।