बीमा कम्पनीको विस्तारसँगै बढ्यो पहुँच, आधा जनसंख्या जीवन बीमाकाे पहुँचमा


काठमाडौं – बीमा कम्पनीहरुको शाखा विस्तार आक्रमक बन्दै जाँदा पहुँच विस्तार समेत बढेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले शाखा विस्तार हुने क्रम बढ्दै जाँदा पहुँच विस्तारमा समेत सुधार आएको देखाएको हो ।

लघु, जीवन र निर्जीवन बीमाको स्थापना र शाखा विस्तारसँगै चालु आर्थिक वर्षको फागुनसम्म बीमा कम्पनीको शाखा सङ्ख्या बढेको छ । यतिबेला जीवन बीमा कम्पनीको १ हजार ७ सय ७४, निर्जीवन बीमा कम्पनीको १ हजार १६ र लघुबीमा २०९ गरी २०८२ बीमा कम्पनीको शाखा सङ्ख्या २ हजार ९ सय ९९ पुगेको छ । २०८१ फागुनसम्म यस्तो सङ्ख्या क्रमशः १ हजार ७ सय ८३, १ हजार ३७ र १७२ गरी २ हजार ९ सय ९२ रहेको थियो ।

शाखा विस्तारसँगै २०८२ असारसम्म यस्तो पहुँच ४८.३ प्रतिशत जनसङ्ख्यामा पुगेको बीमाको पहुँच हाल ४९।९ प्रतिशत जनसङ्ख्यामा पुगेको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमाको दायरा बढेसँगै २०८२ फागुनसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमासहित ४९.९ प्रतिशत जनसङ्ख्यामा जीवन बीमाको पहुँच पुगेको हो ।

यस्तै, २०८२ फागुनसम्म जीवन बीमा शुल्क १ खर्ब २७ अर्ब ६९ करोड र निर्जीवन बीमा शुल्क ३२ अर्ब ५३ करोड गरी कुल बीमा शुल्क २०८१ फागुनसम्मको तुलनामा १६.१ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब २२ करोड पुगेको छ। २०८२ फागुनसम्म सक्रिय बीमालेखमध्ये जीवन बीमातर्फको सङ्ख्या १ करोड ६२ लाख ७९ हजार ८ सय ३२ र निर्जीवन बीमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ रहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमातर्फ १ लाख २५ हजार ८ सय ३० बीमा दाबीअन्तर्गत २६ अर्ब ८४ करोड रकम बराबरको दाबी भुक्तानी गरेका छन् । त्यसैगरी, निर्जीवन बीमातर्फ ९४ हजार २ सय १५ बीमा दाबीअन्तर्गत १७ अर्ब ३१ करोड रकम बराबरको कुल दाबी भुक्तानी भएको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म बीमा क्षेत्रमा जीवन र लघु जीवन बीमातर्फ गरी जम्मा १२ हजार ४ सय ३० व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । २०८१ फागुनसम्म करिब ४ लाख १२ हजार ४ सय ५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा संलग्न छन् । त्यसैगरी, निर्जीवन बीमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने १ हजार २ सय २४ सर्भेयर र १६ पुनर्बीमा अभिकर्ता इजाजत प्राप्त गरी रोजगारीमा संलग्न छन् ।