राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले असोज २० गते मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले 'विकास ऋणपत्र २०८६ घ' नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

७ वर्ष अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुने बैंकले जनाएको छ ।

सरकारले विकास निमार्णका काम गर्नका लागि पूँजी आवश्यक परेपछि विकास ऋणपत्रको माध्यबाट अन्तरिक ऋणको उठाउँछ । यसरी सरकारको लागि आवश्यक ऋण उठाइदिने काम केन्द्रीय बैंकले गर्छ ।

राष्ट्र बैंकले गत असोज ११ गते आइतबार २० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गरेको थियो। केन्द्रीय बैंकले 'विकास ऋणपत्र २०८६ घ' नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गरेको हो ।

मंगलबार जारी हुने विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत सो ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन भने ७ वर्षपछि २०८४ असोज २१ गते सावाँ पनि फिर्ता पाउनेछन ।

सो ऋणपत्र धितोमा राखेर समेत कर्जा लिन वा दिनसमेत पाइनेछ । मंगलबार ३ बजेसम्म बोलकबोल हुनेछ भने अन्तिम निष्कासन बुधबार गरिनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । त्यो भनेको प्रतिस्पर्धीलाई ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई १ अर्ब ५० करोड रुपैयाँ हो ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको बाँडफाँट गरिने बैंकले जनाएको छ।

यस्तै ब्याजदर र बाँडफाँड बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ । घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरीद गर्न सकिने छ ।