सेतीखोला हाइड्रोका लागि कुमारी बैंकको अगुवाईमा ३ अर्ब २५ करोड लगानी जुट्यो

सेतीखोला हाइड्रोका लागि कुमारी बैंकको अगुवाईमा ३ अर्ब २५ करोड लगानी जुट्यो


बैकिङ्ग समाचार ।
सेती खोला हाइड्रोपावरले कास्कीमा निर्माण गर्न लागेको २२ मेगावाट क्षमताको सेती खोला हाइड्रोपावर परियोजनाका लागि३ अर्ब २५ करोड रुपैयाँ लगानी जुटेको छ ।

उक्त आयोजनामा कुमारी बैंकको अगुवाई तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सहवित्तीयकरणमा ३ अर्ब २५ करोड रुपैंया बराबरको कर्जा स्वीकृत भएको छ । उक्त आयोजनामा कुमारी बैंकले २ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एक अर्ब २५ करोड कर्जा लगानी गर्ने भएका छन् ।

असोज १८ गते आइतबार सहवित्तीयकरणमा कर्जा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतले हस्ताक्षर गरेका छन ।

कार्यक्रममा अनुप आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य दु्रत गतीमा संचालन गरी परियोजनाको अनिवार्य व्यवसायीक संचालन मिति भित्रै परियोजना सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा कुमारी बैंकका नायव महाप्रबन्धक रामचन्द्र खनालले कुमारी बैंक लिमिटेडले हाल सम्म ४९ वटा वटा विभिन्न परियोजनामा २२ अर्ब ८५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको जानकारी गराए । त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका नायव कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा ८ अर्ब ३५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको जानकारी गराए।