काठमाडौं- नेपाल वित्तीय संस्था कर्मचारी संघले ग्लोबल आईएमई बैंक विराटनगर शाखामा कार्यरत कर्मचारी पिताम्बर खड्काको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। संघले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको हो।
संघले विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो कार्यदबाब, अस्वाभाविक लक्ष्यको चाप, सीमित जनशक्तिबाट अत्यधिक काम गराइने प्रवृत्ति तथा कर्मचारीहरूको मानसिक अवस्थाप्रति पर्याप्त संवेदनशीलता नदेखाइने विषयले गम्भीर चिन्ता उत्पन्न गरिरहेको जनाएको छ।
संघले कुनैपनि संस्थाको नाफा वा व्यावसायिक उपलब्धिभन्दा कर्मचारीको जीवन, सम्मान र मानसिक सुरक्षा महत्वपूर्ण हुने स्पष्ट धारणा राखेको जनाएको छ। साथै श्रम ऐन र नेपालको संविधानले सुनिश्चित गरेको सुरक्षित तथा मर्यादित कार्यवातावरण प्रत्येक श्रमिकको आधारभूत अधिकार भएको उल्लेख गरिएको छ।
बैंक तथा वित्तीय क्षेत्रमा स्वस्थ कार्यसंस्कृति निर्माण, उचित कार्यसमय सुनिश्चितता, अतिरिक्त कार्यको व्यवस्थित व्यवस्थापन, पर्याप्त जनशक्ति कायम तथा कर्मचारीहरूको मानसिक स्वास्थ्य संरक्षणका लागि प्रभावकारी नीति अवलम्बन गर्न पनि संघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
संघले मानवीय संवेदना, श्रम सम्मान र सुरक्षित कार्यवातावरणको सुनिश्चितताबिनाको वित्तीय क्षेत्र दिगो र विश्वासयोग्य हुन नसक्ने भन्दै सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराएको छ।






About Us
प्रतिक्रिया