काठमाडौं – नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सुरु गरिएको पुरानो प्रक्रिया रद्द गरिएको छ। अर्थ मन्त्रालयले सूचना जारी गर्दै नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको मिति २०८२ वैशाख १४ गतेको सूचनाअनुसार अघि बढाइएको सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको हो।
सूचनामा अध्यक्ष नियुक्तिसम्बन्धी प्रक्रिया उक्त सूचनाको सि.नं. ५ (आ) बमोजिम रद्द गरिएको उल्लेख छ। अध्यक्ष पदका लागि आवेदन दिनेमा महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा. राजेन्द्र पण्डित, डा. दिपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा. दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकीले आवेदन दिएका थिए ।
हाल नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल कार्यरत छिन्। उनी सचिवस्तरकी कर्मचारी हुन्। उनले २०८२ माघ १३ गते पदभार ग्रहण गरेकी थिइन्।
यसअघि सरकारले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ । वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिको संयोजकमा डा. गुणाकर भट्ट छन् । त्यस्तै, समितिमा सदस्यका रूपमा घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा फत्त बहादुर केसी छन् । अब सिफारिस समितिले नयाँ सूचना जारी गरेर आवेदन खुलाउने मन्त्रालयले जानकारी दिएको छ ।






About Us
प्रतिक्रिया