इभी मोटरको क्षमतामा स्पष्ट मापदण्ड कायम गर्न सरकारलाई नाइमाको आग्रह


काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न मध्यम्मद्वारा भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति ध्यानाकर्षण जनाएको छ । नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरु अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरुले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएको नाइमाले जनाएको छ ।

विश्व ओटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास हो । त्यसैले केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकालिनु प्राविधिक रुपमा विश्वनिय आधार मान्न नसकिने धारणा समेत व्यक्त गरेको छ ।

हाल नेपालमा इभी सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छैन । यही अस्पष्टताले विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न गरिरहेको नाइमाले जनाएको छ । ‘इभी सवारी साधनको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्दछ ।’ नाइमाले भनेको छ, ‘साथै, सम्बन्धित सरकारी निकायहरुबीच एकरुप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गरिनु आवश्यक छ ।’

यस्तै, विद्युतीय सवारी साधन नेपालको स्वच्छ उर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्दधन गर्ने महत्वपूर्ण माध्यमका रुपमा स्थापित हुँदै गइरहेको बताएको छ । इभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ उर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा समग्र उर्जा तथा यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याइरहेको उल्लेख छ । राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रुपमा जोडिएको यस क्षेत्रसँग सम्बन्धित विषयहरुलाई तथ्य, प्राविधिक अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै मूल्याङ्कन गर्नुपर्ने बताएको छ ।

विद्युतीय सवारी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयहरुलाई प्रयाप्त अध्ययन, प्रमाणित तथ्य तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै विश्लेषण गरिनु आवश्यक रहेको नाइमाको धारणा छ । अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सृजना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने समेत जनाएको छ । नाइमाले सरकार तथा सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिवद्धता व्यक्त गरेको छ ।