भारतले चिनी निर्यात रोक्यो, नेपालमा के हुन्छ ?


काठमाडौं – भारत सरकारले आन्तरिक बजारमा बढ्दो मूल्य नियन्त्रण गर्न र घरेलु आपूर्ति सुरक्षित राख्न चिनी निर्यातमा तत्काल प्रभावबाट रोक लगाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको महानिर्देशनालयले कच्चा, सेतो र परिष्कृत चिनीलाई ‘प्रतिबन्धित’ श्रेणीमा राख्दै २०२६ सेप्टेम्बर ३० सम्म निर्यात बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो।

यो निर्णयले विश्व बजारमा चिनी आपूर्ति चाप बढ्ने देखिएको छ। ब्राजिलपछि विश्वको दोस्रो ठुलो चिनी उत्पादक भारतले यसअघि चालु सिजनमा १५ लाख ९० हजार टन निर्यात अनुमति दिएको थियो। तर उत्पादन घट्ने अनुमानसँगै नीति उल्ट्याइएको हो। रोयटर्सका अनुसार ८ लाख टनभन्दा बढी चिनीका निर्यात सम्झौता भइसकेका थिए भने ६ लाख टनभन्दा बढी ढुवानी भइसकेको थियो।

भारतमा चिनी उत्पादन घरेलु खपतभन्दा कम हुने अनुमान गरिएको यो लगातार दोस्रो वर्ष हो छ। विशेषगरी महाराष्ट्र र कर्नाटक जस्ता मुख्य उखु उत्पादक क्षेत्रमा उत्पादन घटेको छ। कमजोर मनसुन, अल निनोको असर र उखुको केही हिस्सा इथानोल उत्पादनतर्फ मोडिएकाले चिनी आपूर्ति खुम्चिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतले पेट्रोलमा २० प्रतिशत इथानोल मिसाउने लक्ष्य अघि सारेपछि उखुबाट चिनीभन्दा इन्धन उत्पादनतर्फ उद्योगको झुकाव बढेको छ। यसले आन्तरिक बजारमा चिनी उपलब्धता घटाउने विश्लेषण लामो समयदेखि भइरहेका थिए। यही सन्दर्भमा अहिले निर्यात रोक लगाइएको देखिन्छ।

सरकारले केही अपवाद भने राखेको छ। युरोपेली संघ र संयुक्त राज्य अमेरिका सँगको निश्चित कोटा अन्तर्गतका निर्यात जारी रहनेछन्। साथै बन्दरगाहसम्म पुगिसकेका वा भन्सार प्रक्रिया पूरा भइसकेका खेप पनि पठाउन दिइने बताइएको छ।

नेपालमा के असर ?

नेपालमा चिनीको आपूर्ति स्वदेशी उत्पादनले मात्रै धान्न नसक्ने हुँदा ठुलो परिमाणमा भारतीय बजारबाट आयात हुने गरेको छ। भारतले निर्यात रोकेपछि नेपालमा निजी व्यापारीमार्फत आउने चिनीको आपूर्ति प्रभावित हुन सक्छ। यसले चाडपर्व नजिकिँदै गर्दा मूल्यमा थप दबाब सिर्जना गर्न सक्ने व्यवसायीहरू बताउँछन्।

विशेष गरी नेपालले औपचारिक तथा अनौपचारिक दुवै नाकाबाट भारतीय चिनीमा निर्भरता राख्ने भएकाले भारतको निर्यात नीति परिवर्तनले यहाँको खुद्रा बजारमा प्रत्यक्ष असर पर्ने सम्भावना छ। भारतले रोक लगाएसँगै विश्व बजारमा न्यूयोर्क कच्चा चिनी मूल्य २ प्रतिशत र लन्डन सेतो चिनी मूल्य ३ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ। यसको असर दक्षिण एशियाली बजारमा क्रमशः सर्न सक्ने देखिन्छ।

ब्राजिल र थाइल्यान्ड जस्ता प्रतिस्पर्धी निर्यातक देशहरूले भने भारतको अनुपस्थितिमा एसिया र अफ्रिकामा आफ्नो बजार हिस्सा विस्तार गर्ने अवसर पाउने भएका छन्। विश्व बजारमा आपूर्ति अभावको लाभ उठाउँदै यी देशहरूले मूल्यसमेत बढाउन सक्ने अनुमान गरिएको छ। नेपालजस्ता भारतमा निर्भर बजारका लागि भने यसको असर अब केही साताभित्र खुद्रा मूल्यमा देखिन सक्ने देखिएको छ।