काठमाडौं – नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्रीले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरिरहेको भन्दै आपत्ति जनाएकी हुन्।
उनले भनिन्, ‘यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ । अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ। यो काम गरिरहँदा उहाँहरूले कहाँ जान्छौँ भन्ने समेत थाहा पाउनुभएको छैन। यसले नयाँ बाटो दिँदैन ।’
झाँक्रीले नीति तथा कार्यक्रममा बुँदा घटाइएको र पुरानै विषयको निरन्तरता मात्रै देखिएको पनि बताइन्। उनले सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रसहित बजेट आउनुपर्ने धारणा राखिन्। सांसद झाँक्रीले भू–उपयोग सम्बन्धी कानुन संशोधन गरी सिँचाइ व्यवस्थालाई प्रभावकारी बनाउने तथा भूमिको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन्।






About Us
प्रतिक्रिया