जीवन विकासमा खेलकुद : कोसी र मधेस प्रदेशले जित्यो उपाधि


विराटनगर – जीवन विकास लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको ‘दोस्रो संस्करण’को खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। जीवन विकास पार्कमा आयोजित प्रतियोगितामा कोशी, मधेश, बागमती प्रदेश र केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीले प्रादेशिक टिम बनाएर सहभागिता जनाएका थिए।

प्रतियोगितामा कोशी प्रदेशले आफ्नो बर्चस्व कायम राख्दै फुटबल र क्रिकेट दुवै विधाको उपाधि जितेको छ। फुटबलको फाइनल खेलमा केन्द्रीय कार्यालयको टोलीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै कोशीले उपाधि रक्षा गरेको हो। फुटबलतर्फको म्यान अफ द सिरिज कोशीका कप्तान युवराज खड्का घोषित भए। कोशीले पहिलो संस्करणको फुटबल उपाधि पनि जितेको थियो।

त्यसैगरी, क्रिकेटतर्फ उपाधि पनि कोशी प्रदेशले नै जित्यो । फाइनलमा केन्द्रीय कार्यालयलाई पराजित गर्दै कोशीले उपाधि उचालेको हो। क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने केन्द्रीय कार्यालयका खेलाडी कुमोदकुमार मण्डल म्यान अफ द सिरिज भए।

कवड्डीतर्फको उपाधि भने मधेश प्रदेशले जितेको छ। फाइनल खेलमा केन्द्रीय कार्यालयको टोलीलाई पराजित गर्दै मधेश च्याम्पियन बनेको हो। कवड्डी तर्फ मधेशका पंकज मण्डल म्यान अफ द सिरिज घोषित भए।

यस्तै, भलिबलतर्फकाे उपाधि मधेश प्रदेशको टोलीलाई हराउँदै कोशी प्रदेशले उपाधि जितेको छ। म्युजिकल चेयर प्रतियाेगितामा सरोजा खवास प्रथम, अनामिका कर्ण दोस्रो र सकुन्तला राजवंशी तेस्रो भएकी छन्। चम्मा गुच्चा दौड तर्फ कृष्ण कुमार पौदार प्रथम, विकास प्रसाद साह दोस्रो र इन्दीरा पौडेल तेस्रो भएका छन्। बोरा दौड तर्फ दिनेश राजवंशी प्रथम, महेश्वर मण्डल दोस्रो र संतोष कुमार मण्डल तेस्रो भए। हण्डीफोड तर्फ सन्तोषकुमार साह प्रथम, राजेश सुतिहार दोस्रो र बालकृष्ण साह तेस्रो भएका छन्।