संसद्को दोस्रो अधिवेशन आजदेखि: अध्यादेश एकैदिन पेस हुँदै, राष्ट्रपतिको सम्बोधन


काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ। सोमबार दिउँसो २ बजे बस्ने बैठकमा सरकारले सहकारी, सार्वजनिक खरिद, मनी लाउन्डरिङ, संवैधानिक परिषद् तथा सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी महत्त्वपूर्ण अध्यादेशहरू पेश गर्ने कार्यसूची तय भएको छ।

बैठकको सुरुवातमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्र पनि सदनलाई जानकारी गराइनेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयनसमेत आजै हुनेछ।

प्रतिनिधि सभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको ‘बाधा अड्काउ फुकाउ आदेश’ अनुमोदनका लागि पेस गरिनेछ भने प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ संसद्मा पेस गर्ने कार्यसूची छ।

आजको बैठकको मुख्य आकर्षण भने सरकारले ल्याएका विभिन्न अध्यादेश रहनेछन्। प्रधानमन्त्री वालेन्द्र शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ संसद्मा पेस गर्नेछन्।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ संसद्मा दर्ता गराउनेछिन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले पछिल्लो समय निकै चर्चामा रहेको ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेश गर्नेछिन्। यो अध्यादेश सहकारी पीडितको बचत फिर्ता, सहकारी नियमन र कारबाही प्रक्रियासँग सम्बन्धित भएकाले विशेष चासोका साथ हेरिएको छ।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विभिन्न कानुन संशोधन गर्न ल्याइएको अध्यादेश पेस गर्नेछिन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश संसद्मा पेश गर्ने कार्यसूची छ।

प्रतिनिधि सभाको बैठकपछि आजै दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्नेछ। संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।