अमेरिकामा ‘नेपाल टेक रोडशो यूएसए २०२६’ हुँदै, प्रविधि र एआईमा नेपाली सम्भावना प्रस्तुत गरिने


काठमाडौं – तीव्र गतिमा विस्तार हुँदै गएको प्रविधि तथा नवप्रवर्तन इकोसिस्टमलाई अमेरिकी बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल टेक रोडशो यूएसए २०२६’ आयोजना हुने भएको छ। डेक्सपर्टस इंकको सहयोग तथा नेपाल चेम्बर अफ कमर्स डल्लास र अमेरिका चेम्बर अफ कमर्स नेपाल (एमच्याम) को सहकार्यमा आयोजना रोडशो यूएसए हुन लागेको हो।

सो कार्यक्रम आगामी मे १५ मा अमेरिकाको एम्बेसी सुइट्स, हिल्टनमा हुने नास आइटीले जनाएको छ। कार्यक्रममार्फत नेपालका प्रविधि उद्यम, स्टार्टअप, नवप्रवर्तनकर्ता तथा लगानी अवसरलाई अमेरिकी बजार र विश्वव्यापी साझेदारहरूसँग जोड्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

रोडशोमा विभिन्न क्षेत्रका नवप्रवर्तनकर्ता, उद्योग नेतृत्वकर्ता तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता रहनेछ। कार्यक्रममा विशेष गरी नेपालमा प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)र डिजिटल इकोसिस्टम विस्तारका सम्भावनाबारे छलफल हुने बताइएको छ।

कार्यक्रमअन्तर्गत मनोज सिग्देल र करुणा मल्लाकुन्टलाले संयुक्त प्रस्तुति दिनेछन्। उनीहरूले ‘द रोल अफ द चेम्बर एण्ड नेपाली डायस्पोरा इन्भेस्टमेन्ट इन टेक्नोलोजी एण्ड एआई’ विषयमा प्रस्तुति दिँदै नेपाली डायस्पोरा नेटवर्क, चेम्बरहरूको भूमिका तथा रणनीतिक लगानीमार्फत नेपाललाई विश्व प्रविधि बजारमा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्नेछन्।

आयोजकका अनुसार रोडशोले नेपाल र अमेरिकी प्रविधि क्षेत्रबीच सहकार्य विस्तार, लगानी आकर्षण तथा ग्लोबल मार्केट एक्सेसका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।