मनसुन पूर्वतयारीबारे जानकारी लिन मौसम विभाग पुगे मन्त्री विराज भक्त श्रेष्ठ


काठमाडौं – मनसुन सुरु हुने समय नजिकिँदै गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभाग पुगेर मौसमी सूचना प्रवाह तथा विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिएका छन्।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मौसमको वर्तमान अवस्था, २४ घण्टे र तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक र अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए। साथै चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा र आगामी वर्षका योजनाबारे पनि चर्चा गरिएको थियो।

उनले विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीनदिने मौसम पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्म पुर्‍याउने दिशामा मन्त्रालयले पहल गर्ने बताए। मनसुनका कारण हुन सक्ने सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न सूचना प्रणालीलाई अझ प्रभावकारी र लक्षित समुदायसम्म पहुँचयोग्य बनाउन पनि उनले निर्देशन दिए ।

मन्त्री श्रेष्ठले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका कर्मचारी र प्राविधिकहरूको कामको प्रशंसा गर्दै प्रोत्साहनका कार्यक्रम ल्याइने जानकारी दिए।

कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी तथा विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठले विभागका गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचना सम्बन्धी कार्यप्रगतिबारे जानकारी गराइन।