काठमाडौं – नेपाल बीमा प्राधिकरणले दुई बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले बीमक/पुनर्बीमक दलाललाई बीमा ऐन, २०७९ तथा प्राधिकरणबाट जारी भएका निर्देशनहरूको पालना नगरेको भन्दै दुई कम्पनीलाई कारबाही गरेको हो ।
प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) लाई र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई कारबाही गरेको हो ।
बीमा प्राधिकरणले सलिकोलाई सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५ (२) को विपरित हुने गरी कार्य गरेको उल्लेख गरेको छ । कुनैपनि कम्पनीले जारी गरिने बीमालेखको बीमाशुल्कमा कुनै प्रकारको छुट (डिस्काउन्ट), रिहायत, कटौति वा सहुलियत दिन नपाइने व्यवस्था छ। तर, बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री गरिएको अवस्थामा पाँच प्रतिशत वा अभिकर्ता प्रयोग गर्दा अभिकर्ताले पाउने रकम बराबरको रकम छुट प्रदान गर्न यस दफाले बाधा पुर्याएको नमानिने उल्लेख छ । तर, सलिकोले सो व्यवस्था उल्लघन गरेपछि प्राधिकरणले बीमा ऐन, २०७९ बमोजिम दुई लाख रूपैयाँ जरिवाना गराएको हो ।
यस्तै, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८ को दफा १५ को उपदफा (१) र (२) व्यवस्था पालना नगरेको पाइएको छ । निर्देशिकमा पुनर्बीमा दलालको इजाजतपत्र प्राप्त संगठित संस्था समितिको स्वीकृति बिना हस्तान्तरण हुन, स्वामित्व परिवर्तन गर्न तथा विघटन गर्न नपाइने व्यवस्था छ । साथै, पुनर्बीमा दलालको इजाजतपत्र प्राप्त संस्थाले स्वामित्व परिवर्तन गर्न चाहेमा सो को कारण खोली समिति समक्ष निवेदन दिन सक्ने उल्लेख छ । तर, लर्ड बुद्धले सो व्यवस्थाको उल्लघंन गरेसँगै प्राधिकरणले बीमा ऐन, २०७९ बमोजिम पाँच हजार जरिवाना गरेको छ ।



About Us
प्रतिक्रिया