४४ दिनको लागि २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ४४ दिनको लागि २० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो ।

यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार ५ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकताक्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ ।

निक्षेप संकलन गरिएकोरकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन ।