विराटनगर – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कोशी, मधेश र बागमती प्रदेशका विभिन्न २२ वटा शाखा कार्यालयहरूले ‘केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ।
सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्दै वित्तीय अनुशासन बढाउने उद्देश्यले बैशाख १६ गतेदेखि २० गतेसम्म कार्यक्रम सञ्चालन गरेको हो। वैशाख १६ गते सप्तरीको राजविराज, मोरङको केराबारी र रामचोक र धनुषाको ढल्केबरमा रहेको शाखाले वितीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सञ्चालन गरेका थिए।
बैशाख १७ गते सप्तरीको छिन्नमस्ता, सुनसरीको हरिनगरा,महोत्तरीको हनुमानचोक र मोरङको बबियाविर्ता र टाँडी शाखाले कार्यक्रम गरेको हो। वैशाख १८ गते सप्तरीको नर्घो, मोरङको कर्सिया र टंकीसिनुवारी, धनकुटाको जीतपुर र सर्लाहीको नाडीतालले कार्यक्रम सम्पन्न गरेका थिए।
वैशाख १९ गते धनुषाको सबैला, मोरङको शिशबनीबडहरा र इटहरा, सप्तरीको हनुमाननगर र भोजपुरको प्याउँली शाखाले कार्यक्रम सञ्चालन गरेका थिए। वैशाख २० गते सुनसरीको मधुवन र संखुवासभाको चैनपुर शाखाले कार्यक्रम सञ्चालन गरेका थिए।
घरदैलोमा पुगेर वित्तीय सेवा पुर्याउँदै आएको जीवन विकासले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएका २२ वटै शाखा मार्फत ५–५ जनाका दरले अतिविपन्न बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेको छ। ती बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकमरी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरूले सहभागी सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गर्दै बचतको महत्त्व, डिजिटल बैंकिङ्गको प्रयोग र कर्जाको सही सदुपयोगबारे प्रशिक्षण दिएका थिए। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, जीवन विकासको केन्द्र प्रमुख, उपप्रमुख र सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सदस्य र केन्द्रहरूलाई पुरस्कृतसमेत गरिएको थियो। संस्थाका हरेक शाखा कार्यालयले उत्कृष्ट अधिकृत टेलर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमी र उत्कृष्ट केन्द्रहरूलाई पुरस्कृत गरेका थिए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले वित्तीय अनुशासन र साक्षरताले नै सदस्यहरूको समृद्धिको ढोका खोल्ने बताए। सदस्यहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन र उनीहरूका सुझाव तथा गुनासोलाई प्रत्यक्ष सम्बोधन गर्न गोष्ठी फलदायी भएको उनले बताए। ‘हाम्रो मुख्य उद्देश्य सदस्यहरूलाई वित्तीय रूपमा साक्षर बनाउनु र उनीहरूको जीवनस्तर उकास्नु हो,’ उनले भने,‘हामी घरदैलोमै पुगेर वित्तीय सेवा प्रवाह गर्छौ, यस्ता कार्यक्रम मार्फत सदस्यहरूको हौसला र क्षमता बढाउनेछ।’



About Us
प्रतिक्रिया