समृद्धि फाइनान्सको अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का, फुकुवा सेवा सूचारु


काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले धितो बन्धक सम्बन्धी रोक्का तथा फुकुवा सेवा अब पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग भएको समझदारीपछि अबसम्म जग्गाधनी, ऋणी र वित्तीय संस्थाका प्रतिनिधिको भौतिक उपस्थितिमा मालपोत कार्यालयमार्फत हुँदै आएको प्रक्रिया सूचना प्रविधिमा आधारित प्रणालीबाट सञ्चालन हुने भएको हो।

सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्। भूमि प्रशासन निर्देशिका २०८१ बमोजिम अब धितो रोक्का तथा फुकुवा सम्बन्धी सम्पूर्ण काम अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरिएको फाइनान्सले जनाएको छ।

यससँगै फाइनान्सले आफ्नो केन्द्रीय कार्यालयमार्फत देशभर रहेका शाखाहरूबाट समेत उक्त सेवा सञ्चालन गर्नेछ। नयाँ प्रणाली लागू भएसँगै ग्राहकहरूले कर्जा उपभोग गर्दा छिटो, छरितो र सहज सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

समृद्धि फाइनान्सले डिजिटल वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिँदै नयाँ प्रविधिमार्फत ग्राहक सन्तुष्टि बढाउने लक्ष्य राखेको जनाएको छ। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको यस फाइनान्स कम्पनीले हाल १३ शाखामार्फत सेवा दिँदै आएको छ। साथै, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङका साथै मोबाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोड जस्ता डिजिटल सेवा पनि उपलब्ध गराउँदै आएको छ।