याक एन्ड यतीमा कर्मचारीको मनोवल गिराउने खेलः १३ जना म्यानेजरलाई जबर्जस्ती बेतलबी बिदा

याक एन्ड यतीमा कर्मचारीको मनोवल गिराउने खेलः १३ जना म्यानेजरलाई जबर्जस्ती बेतलबी बिदा


बैकिङ्ग समाचार ।  

पाँचतारे होटल याक एन्ड यती व्यवस्थापनले लामो समयदेखि कार्यरत दर्जन बढी म्यानेजरलाई जबर्जस्ती बेतलबी बिदा बसाएपछि विवाद चरम उत्कर्षमा पुगेको छ । 

भारतीय व्यवसायी राधेश्याम सर्राफ अध्यक्ष तथा उनका छोरा अरुणकुमार सर्राफ कार्यकारी निर्देशक रहेको पाँचतारे होटल याक एन्ड यती व्यवस्थापनले स्थायीरूपमा कार्यरत १७ मध्ये १३ म्यानेजरलाई गत वैशाखदेखि निरन्तर आठ महिनासम्म जबर्जस्ती बेतलबी बिदा बस्न पत्राचार गरेपछि विवाद उत्पन्न भएको हो । 

‘होटल व्यवस्थापनको जबर्जस्ती व्यवहारको विरोध गर्दै हामीले सम्बद्ध सबै निकायमा समस्या समाधानका लागि निवेदन दिएका छौं,’ पीडित एक म्यानेजरले भने, ‘गएको जेठदेखि होटलले हामीलाई एक रुपैयाँ पनि तलब दिएको छैन।’

कोरोना भाइरस महामारीपछि भारत गएका होटल सञ्चालक सर्राफद्वय अझै उतै छन्। 

पीडित म्यानेजर समूहले आफूहरूलाई अन्याय परेको भन्दै पर्यटन विभाग, गृह मन्त्रालय, श्रम विभाग, श्रम कार्यालय, पर्यटन मन्त्रालयमा निवेदन दिएको छ।

याक एन्ड यतीका म्यानेजरहरू चिनियाँकाजी श्रेष्ठ, सन्तोष दाहाल, मनोज खड्का, दिनेश व्यञ्जनकार, कुमारीदेवी धमला, दिवस श्रेष्ठ, जेनिसन श्रेष्ठ, सञ्जय यादव, हर्षबहादुर रायमाझी, कृष्णबहादुर शर्मा, उमेशप्रसाद देव, दिना शाक्य, एएस प्रविण, ज्ञानेश्वर पौडेल, लेखारानी सिंह भट्टराई, राजन जोशी र ध्रुव रुपाखेतीले ती निकायमा समस्या समाधानका लागि निवेदन दिएका हुन्।

उनीहरूमध्ये कोही न्यूनतम १२ वर्षदेखि काम गरिरहेका छन् भने कोही अधिकतम ३५ वर्षदेखि काम गरिरहेका पनि छन्। सबैजना कनिष्ठ पदबाट काम सुरु गरेर क्षमताका आधारमा बढुवा हुँदै म्यानेजर भएका हुन्।

निवेदनपछि श्रम कार्यालयले होटल व्यवस्थापनलाई विस्तृत विवरण दिन पत्राचार गरेको थियो। त्यसपछि होटलले यसबारे म्यानेजरहरूसँग छलफल भइरहेको जवाफ दिएको थियो।

‘श्रमको पत्र आएपछि व्यवस्थापनले बेसिक तलब टुक्र्याउने निर्णय फिर्ता लिइएको जानकारी दियो,’ त्यसमध्यका एक म्यानेजरले भने, ‘बाँकी कुरा हुँदै गर्छ भनेर हामीलाई यता न उता बनाइरहेको छ। हामीले वर्षौं सेवा गरेको फल होटल सञ्चालकले यसरी दिँदैछन्। तर, हामी हाम्रो अधिकारी लिएर छाड्छौं।’

यता याक एन्ड यतीमा ‘योग्यता’ नपुगेको विदेशीलाई महाप्रबन्धक नियुक्त गरिएपछि सबै स्थायी म्यानजेरदेखि कार्यरत ३ सय कर्मचारी रुष्ट छन्। 

होटलका कार्यकारी निर्देशक अरुण सर्राफले अस्ट्रियाकी मोनिका सेइब्लउरलाई एकैपटक ६ वर्षको करार नियुक्ति दिएपछि कर्मचारी रुष्ठ भएका हुन् । 

यस्ता विवास्पद निर्णयहरुले गर्दा होटलका अधिकांश कर्मचारीको मनोवल गिरेको म्यानेजरहरु बताउँछन् ।