काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास वित्तीय विवरणले नाफा प्रभावित भएको देखाएको हो । गत आर्थिक वर्षको चैतमसान्तसम्ममा २ अर्ब १७ करोड ३७ लाख नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८ करोड १६ लाख नाफा आर्जन गरेको छ।
तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकले चैतसम्म २ अर्ब ९१ करोड ४७ लाख ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ७ लाख ब्याज आम्दानी गरेको थियो। चैतसम्म बैंकको सञ्चालन मुनाफा पनि घटेको छ । बैंकले चैतसम्म २ अर्ब ९७ करोड १४ लाख सञ्चालन मुनाफा गरेको छ। चैतसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३५ करोड ४७ लाख रहेको छ।
हाल बैंकको चुक्तापुँजी १० अर्ब ४ करोड २३ लाख रहेको छ भने रिजर्भमा १० अर्ब ५५ करोड ४३ लाख रहेको छ। चालु आर्थिक वर्षको चैतसम्म बैंकको खराब कर्जा अनुपात बढेर १.८१ प्रतिशतमा पुगेको छ। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर २०।७३ कायम भएको छ।



About Us
प्रतिक्रिया