काठमाडौं – नेपाल राष्ट्र बैंक ७२ वर्षमा प्रवेश गरेको छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको केन्द्रीय बैंकले आज ७१ औं वार्षिकोत्सव आज मनाउने भएको हो । राष्ट्र बैंकले ७१ औं वार्षिकोत्सव मनाउँदै गर्दा डिजिटल बैंकिङ्गमा राम्रो फड्को मारेको छ । यतिबेला अधिकांश नागरिकमा वित्तीय चेतना समेत अभिवृद्धि हुँदै गइरहेको छ ।
बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट हुने डिजिटल कारोबार बढेको छ । राष्ट्र बैंककाअनुसार देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ भने अधिकांश व्यक्ति वित्तीय सेवाको पहुँचमा समावेश भएका छन् । राष्ट्र बैंकले बैंकिङ्ग तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवद्र्धन गर्ने, सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणाली विकास गर्ने, बैंकिङ्ग तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने, देशको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीको संवद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै आइरहेको छ ।
राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा गभर्नर डा. विश्वनाथ पौडेलले समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्ने बताए । केन्द्रीय बैंकले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।



About Us
प्रतिक्रिया