अब नेपाल आउन पर्यटकले ६ लाखको कोरोना बीमा गर्नुपर्ने

अब नेपाल आउन पर्यटकले ६ लाखको कोरोना बीमा गर्नुपर्ने


बैकिङ्ग समाचार ।  
अब पर्वतारोहण तथा पदयात्रामा आउने पर्यटकले कोरोना सम्बन्धी बीमा गरेको हुनुपर्नेछ । पर्वतारोहण तथा पदयात्राका लागि आउने पर्यटकले नेपाल भ्रमणमा आउँदा ५ हजार अमेरिकी डलर अर्थात ६ लाख नेपाली रुपैयाँ बराबरको बीमा गरेको कागजात पेश गर्नुपर्ने भएको छ ।

नेपालमा सो प्रयोजनका लागि आउने पर्यटकले नेपाल प्रवेश पश्चात पर्यटनले न्यूनतम सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नयाँ व्यवस्था गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको हो ।

सरकारले आउँदो १ कात्तिकदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार अब नेपालमा विदेशी पर्यटक आउन पाउनेछन् । यो निर्णयसँगै होटल क्यारेन्टिमा बसेको ५ दिनको दिन निजकै खर्चमा पीसीआर टेष्ट गराउनु पर्ने छ ।

५ दिन पछि गरिएको कोरोना टेष्टमा पोजेटिभ रिपोर्ट आएमात्र पदयात्रा तथा पर्वतारोहणमा जान पाइने छैन । कोरोनाको रिपोर्ट नगेटिभ नआएसम्म होटलबाट बाहिर निस्कन पाइने छैन अर्थात होटल क्यारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । 

पर्यटक नेपाल आउनुअघि नै भिसा प्राप्त गरेको हुनुपर्ने, भिसा उपलब्ध नभएको अवस्थामा नेपालको ट्राभल तथा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थासहितको नयाँ मापदण्ड पर्यटन मन्त्रालयले जारी गरेको हो । पर्यटन मन्त्रालयले ९ असोजमा यस्तो मापदण्ड स्वीकृत गरेर कार्यान्वयनको लागि सम्बन्धित ट्राभल, ट्रेकिङसहितका निकायलाई जानकारी गराएको छ ।

उक्त मापदण्डमाथि व्यवसायीसँगको छलफलबाट थप सहजीकरण गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ ।  पर्यटक नेपाल आउन र घुमघाममा सहजीकरण गर्ने र महामारीबाट पनि बच्नुपर्ने भएकोले सोही अनुसारको छलफल गरी मापदण्डलाई औपचारिक रूप दिइने मन्त्रालयले बताएको छ ।