अघि बढ्यो बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया, सिफारिस समिति गठन


काठमाडौं – सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझालाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि नयाँ अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गरेको हो ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिको सदस्यमा अर्थसचिव डा. घनश्याम उपाध्याय रहेका छन् भने विज्ञ सदस्यमा डा. फत्तबहादुर केसी रहेका छन् ।

विगत लामो समय अस्थिर रहेको बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीमा सरकार जुटेको हो । हाल अर्थमन्धत्रालयका सहसचिवबाट नै प्राधिकरणको काम कारबाही सञ्चालन हुँदै आइरहेको छ ।

उपाध्यक्ष भट्टको संयोजकत्वमा बनेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ र सरकारले तीनै मध्यबाट एकलाई अध्यक्षमा ४ वर्षका लागि नियुक्त गर्नेछ ।