ज्योति विकास बैंकको नाफामा उल्लेखनीय सुधार


काठमाडौं – ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे अवधिमा नाफामा उलेख्य मात्रामा सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा नाफामा उल्लेखनीय वृद्धि देखिएको हाे।

विवरणअनुसार बैंकले साउनदेखि चैतसम्मको अवधिमा ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३० करोड ६६ लाख रुपैयाँ मात्र रहेको थियो।

यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। बैंकले यो अवधिमा ८९ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष ४३ करोड ७९ लाख रुपैयाँ कमाएकाे थियाे।

विवरणअनुसार चालु वर्षको पहिलो ९ महिनामा बैंकले १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्ष १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँ थियाे। बैंककाे चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको चैतसम्म बैंकले ६४ अर्ब ४९ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब २३ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चैतसम्म बैंकको खराब कर्जा बढेर २.३६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खराब कर्जा १.३७ प्रतिशत थियो।