काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट १ खर्ब २० अर्ब रुपैयाँ खिच्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता भए पछि केन्द्रीय बैंकले १९ दिने अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो।
१९ दिनका लागि बोलकबोल हुने यस निक्षेप संकलन उपकरणमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू सहभागी हुन सक्नेछन्। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो निक्षेप संकलन उपकरणको यही ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया