बीमकको स्थिर सम्पत्ति खरिद बिक्री प्रक्रियालाई पारदर्शी बनाउँदै बीमा प्राधिकरण


काठमाडौं – नेपाल बीमा प्राधिकारणले बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धी निर्देशन, २०८२ जारी गरेको छ । बीमकको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी, मितव्ययी र प्रविधिमैत्री बनाउनुका साथै संस्थागत सुशासन कायम गर्न प्राधिकरण निर्देशन जारी गरेको हो ।

बीमकले खरिद वा निर्माण गरिसकेको स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको खुद मूल्य र खरिद वा निर्माण गर्न लागेको स्थिर सम्पत्तिको लागतको योगफल निर्जीवन बीमक, पुनर्बीमक र लघु निर्जीवन बीमकको लागि अनुसुचीको खण्ड (कं) र जीवन बीमक र लघु जीवन बीमकको लागि सोही अनुसूचीको खण्ड (ख) बमोजिम गणना गरिएको नेटवर्थको तीस प्रतिशतको सीमा भित्र हुनुपर्नेछ । उपदफा १ बमोजिम नेटवर्थ गणना गर्दा पछिल्लो लेखापरीक्षण गरिएको वित्तीय विवरणको आधारमा गर्नुपर्ने उल्लेख छ ।

स्थिर सम्पत्तिको हासकट्टी पछिको खुदमूल्य गणना गर्दा कुनै पनि स्थिर सम्पत्तिको पुनर्मूल्यांकन गरिएको भएमा रिभ्याल्युएशन सरप्लस बराबरको रकम स्थिर सम्पत्तिको खुद मूल्यबाट घटाउनु पर्ने उल्लेख गरिएको छ । यस्तै, सीमा गणना गर्दा व्यवसायिक प्रयोजनका लागि खरिद वा निर्माण भएको घरजग्गाको मूल्य समावेश गर्न नहुँने प्राधिकरणले जनाएको छ ।

बीमकले खरिद वा निर्माण गरेको घरजग्गा कार्यालय तथा व्यवसायिक दुबै प्रयोजनका लागि प्रयोग हुने अवस्थामा कार्यालय प्रयोजन तथा व्यवसायिक प्रयोजनमा प्रयोग हुने घरजग्गाको स्वतन्त्र आधिकारिक मूल्याङ्कनकर्ताबाट प्रचलित बजार मूल्यमा आधारित रहेर पारदर्शी र वस्तुगत तवरले अलग अलग मूल्य निर्धारण गर्नुपर्नेछ र व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने घरजग्गाको मूल्य उपदफा (१) बमोजिमको सीमा गणना गर्दा समावेश गर्न नहुँने उल्लेख छ ।