सिटीजन्स लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै, एनआइबिएल एस क्याटिल विक्री प्रबन्धक

सिटीजन्स लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै, एनआइबिएल एस क्याटिल विक्री प्रबन्धक


बैकिङ्ग समाचार । 

सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्न प्रक्रिया शुरु गरेको छ । 

कम्पनीले आईपीओ निष्कासन गर्न सोमवार विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त गरेसँगै प्रक्रिया अगाडि बढेको हो । कम्पनीले रू. ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि विक्री प्रबन्धक नियुक्त गरेको हो । 

आईपीओ निष्कासन सम्झौतापत्रमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ७५ करोड रहेको छ । 

७५ लाख कित्ता आईपीओ बाँडफाँट पछि कम्पनीको पूँजी रू.२ अर्ब ५० करोड पुग्नेछ । हालसम्ममा कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन । बोर्डमा निवेदन दिएर स्वीकृती पाएछि आईपीओ निष्कासन हुनेछ । 

कम्पनीले निष्कासन गर्ने ७५ लाख कित्ता आईपीओ नयाँ जीवन बीमा कम्पनी मध्येकै धैरै हो । हालसम्ममा नयाँ जीवन कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मात्र आईपीओ निष्कासन गरिसकेको  छ । 

कम्पनीले गत आवको चौथो त्रैमासमा रू.२० करोड ७ लाख नाफा कमाएको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा ३१ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १५ करोड ३६ लाख नाफा कमाएको थियो । 

गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै बलियो बनाउँदै जीवन बीमा कोषतर्फ १६४ प्रतिशत र बीमाशुल्क आर्जनतर्फ ६९ प्रतिशतले वृद्धि  गरेको छ ।